Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

महिला माथिको हिंसा कहिलेसम्म ?

महिलाहरूले आफ्नो जीवनकालमा मात्र नभई आमाको गर्भदेखि नै हिंसा भोग्नु परिरहेको छ । छोरा वा छोरी पत्ता लगाउन लिङ्ग छनौट गर्नु, गर्भपतन गर्नु, जबरजस्ती गर्भवती बनाउनु महिला हिंसा हो । शिशु÷बालिकाको हत्या गर्नु, बालिकालाई खानपान र स्वास्थ्य उपचारमा फरक–फरक व्यवहार गर्नु शिशु अवस्थामा गरिने बालिका हिंसा हो । बाल्य अवस्थामा नै विवाह गरिदिने, यौन दुव्र्यवहार गर्ने, किशोरी बलात्कार हुने, कार्यस्थलमा यौन दुव्र्यवहार हुने, वेश्यावृत्तिमा लगाउने, बेचबिखन गर्ने आदि किशोर अवस्थामा हुने हिंसा हुन् । विवाह भई सकेपछि दाइजोको कारण हुने हिंसा, श्रीमान्को पिटाई, छोरा नै पाउनु पर्ने मनोवैज्ञानिक दबाव, बैवाहिक बलात्कार जस्ता हिंसाहरू महिलाहरूले भोगी रहेका छन् ।

बोक्सीको आरोप लगाएर गरिने दुव्र्यवहार होस् या, पर्याप्त खाना लुगा लगाउन नदिने, स्वास्थ्य उपचार गर्न वास्ता नगर्ने, घरबाट निकाला गर्ने जस्ता हिंसाहरू वृद्धावस्थामा भोग्नु परिरहेका छन् । समग्रमा महिलाहरुले जीवन गर्भदेखि वृद्धावस्थासम्म हिंसा नै हिंसामा जिन्दगी बिताईरहेको यथार्थलाई कसैले नकार्न सक्दैन् । महिला विरुद्ध भइरहेको हिंसा, विभेद एवं अन्याय अन्त्य गर्न सञ्चालन हुने विभिन्न अभियान मध्ये अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिएको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान बिहीवारदेखि सुरु भएको छ । यस्ता अभियानहरु भने प्रभावकारी हुन सकेका छैनन् । अहिले विश्व–समुदाय नै कोभिड–१९ बाट आक्रान्त भइरहेको छ । तर, महिलामाथि हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । अमानवीय र पाशविक घटना छताछुल्ल भएका छन् ।

वर्तमान परिप्रेक्षमा समाज सांस्कृतिक, राजनीतिक, आर्थिक रूपान्तरणमा फड्को मार्न सफल भएको छ । तर बालिका एवं महिला माथिको हिंसालाई मानव अधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न राज्य सफल हुन सकेको छैन् । महिलाले परिवार, समाज र अपराधीबाट उत्पीडन भोग्नु परिरहेको छ । उनीहरूमाथि बलात्कार र हत्यासम्मका जघन्य अपराध भइरहेका छन् । संविधानमा महिलामाथि कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भन्ने अधिकारको सुनिश्चित गरिएको छ । यसर्थ संविधानले प्रत्याभूत गरेको महिलाको सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार व्यवहारमा लागु गर्न सरकार चुक्नु हुँदैन् । यद्धपी बालिका तथा महिलामाथि दिनहुँ हुने हिंसाका घटनाहरू यही समाजबाट सिर्जित हुन् ।

यसर्थ जबसम्म सिङ्गो नेपाली समाज सजग, सचेत, जागरूक भई यस्ता घृणित, आपराधिक क्रियाकलापविरुद्ध जाग्दैन तबसम्म यस्ता घटना दोहोरिइरहन्छन् । त्यसैले मूकदर्शक मात्र बन्न होइन की, सिङ्गो नेपाली समाज एकाकार भई महिलामाथिको हिंसा न्यूनीकरणका लागि प्रतिबद्ध हुनैपर्छ ।

 

समाचार