थप २६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २१७ पुग्यो
काठमाडौं : मंगलबार थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । बिहान ५७ जनामा कोरोना पुष्टि भएको थियो । यसैगरी एकै दिन कोरोना पुष्टि हुनेको संख्या ८३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर नमुनाको परीक्षणमा मंगलबार ८३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
काठमाडौं र भक्तपुरमा नयाँ संक्रमित
मंगलबार साँझ कोरोना पोजिटिभ देखिएका काठमाडौं र भक्तपुरकासमेत रहेका छन्। सहप्रवक्ता अधिकारीका अनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। काठमाडौंकी एक ३३ वर्षीया महिलामा कोरोना देखिएको हो। यसअघि संक्रमण देखिएका उपत्यकका सबै निको भएका थिए।
सहप्रवक्ता अधिकारीका अनुसार साँझ पुष्टि भएका नयाँ संक्रमित पर्साका ६ महिला र १२ पुरुष गरी १८, महोत्तरी, धनुषा, भक्तपुरका दुईदुई गरेर छजना, काठमार्डौ र सर्लाहीका एकएक जना गरेर जम्मा २६ जनामा कोरोना पोजिटिभ देखिएको हो।
मंगलबार एकै दिन ठूलो संख्यामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो । अहिलेसम्म उपचारपछि ३३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामध्ये तीनको पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
अहिलेसम्म सम्भावित संक्रमित मानिएका २२८ जना आइसोलेसनमा छन्। १२ हजार सात सय ८५ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर १८ हजार ९ सय ६४ र आरडीटी विधिबाट ५९ हजार ६ सय २७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।





