Loading... आजः २०८३, १९ बैशाख शनिबार

नेकपा स्थायी समिति बैठक बुधबार : एजेन्डा कोरोना, सीमा र बजेट

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बुधबार बस्दै छ। मंगलबार दिउँसो बुधबार स्थायी समिति बैठकमा उपस्थित हुन एसएमएस आएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए। बैठक बुधबार बिहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र छलफल नै नगरी राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको थियो। पार्टीमा विवाद चर्किदै गएपछि २० स्थायी समिति सदस्यले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेर स्थायी समिति बैठकको माग गरेका थिए।

वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाएको थियो। बैठकका एजेन्डाको विषयमा वैशाख २४ गते बसेको सचिवालय बैठकमा सहमति नजुटेपछि अन्तिम समयमा २४ गते साँझ अनिश्चित समयका लागि स्थगित भएको थियो।

२० जना स्थायी समिति सदस्यले बैठक माग गर्दै १० वैशाखमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई लिखित पत्र बुझाएका थिए। नेकपाको अन्तरिम पार्टी विधानको धारा ५९ (४)मा २५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने उल्लेख छ।

अध्यादेश अहिले फिर्ता भइसके पनि उनीहरूले बैठक बोलाउनै पर्ने माग छाडेका थिएनन्। २५ वैशाखमा स्थायी समितिको मिति तोकिए पनि त्यसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले बैठक बोलाइरहनु आवश्यक नरहेको भन्दै टारिदिएका थिए।

नेकपाको यो स्थायी समिति बैठकलाई निकै चासोसाथ हेरिएको छ। बैठकमा प्रस्तुत गर्ने प्रस्ताव र कार्यसूचीमा दुई अध्यक्ष ओली र दाहालबीच समझदारी जुट्न नसक्दा २४ वैशाखमा बसेको सचिवालयले तोकिएको स्थायी समिति बैठक स्थगन गरेको थियो।

सरकारले अहिले संसद्मा प्रि–बजेट छलफल गरिरहेको छ। २ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र संवैधानिक व्यवस्थाअनुसार नै १५ जेठमा संसद्मा बजेट ल्याउनुपर्ने प्रेसरमा सरकार छ। त्यसअघि संसद्मा आफ्नै पार्टीभित्रको आक्रोश नीति तथा कार्यक्रम र बजेटमा नदेखियोस् भन्ने उद्देश्यले पनि बुधबारका लागि स्थायी समिति बैठक बोलाइएको अनुमान नेताहरूले गरेका छन्।

संसदीय समिति, संसद्मा सरकारको आलोचनामा पार्टीका नेताहरू नै उत्रन थालेपछि त्यसको असर नीति तथा कार्यक्रम र बजेटमा नपरोस् भन्ने ध्येयले प्रधानमन्त्री छोटो समयका लागि बैठक बोलाउन तयार भएको नेता बताउँछन्। संसद्मा लिपुलेकको सीमा अतिक्रमण, सरकारको कामका विषयमा नेकपाकै स्थायी समिति सदस्य भीम रावल, जनार्दन शर्मा, वेदुराम भुसाललगायत नेताले आक्रोश पोखिरहेका छन्।

प्रतिपक्षी कांग्रेसभन्दा कडा रूपमा आफ्नै पार्टीका नेता उत्रन थालेको र सरकारलाई सहयोग गर्न प्रधानमन्त्री स्वयंले संसद् बैठक अघि सांसदहरूलाई पत्रमार्फत ह्वीप लगाए पनि नेताहरू नियन्त्रित हुन नसकेपछि स्थायी समिति बोलाउन प्रधानमन्त्री तत्पर देखिएको एक स्थायी समिति सदस्यले बताए।

दुई अध्यक्षबीच स्थायी समिति बैठक बोलाउन निरन्तर छलफल चलिरहेको थियो। सोमबार बिहान पनि बालुवाटारमा ओली र दाहालबीच छलफल भएको थियो। मंगलबार भने टेलिफोनमै दुई अध्यक्षले स्थायी समिति बैठक बोलाउने समझदारी गरेका हुन्।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले अहिले तत्कालका लागि कोरोना, सीमा समस्या, नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने गरी स्थायी समितिको एजेन्डा तय गरेका छन्। बैठक माग गर्ने स्थायी समिति सदस्यहरूले भने अध्यक्षद्वयले प्रस्ताव गर्ने एजेन्डामा आफूहरूले पनि थप गर्ने तयारी गरेका छन्। (अन्नपुर्णा)

समाचार