Loading... आजः २०८३, १८ बैशाख शुक्रबार

विकास निर्माण कार्य सुचारु गर्दै नारायण नगर

नारायण नगरपालिका वडा न. ३ काे निर्माणाधिन वडा कार्यालय भवन

कुमार प्याकुरेल 

दैलेख ः  कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण ठप्प रहेको विकास निर्माण कार्यलाई दैलेखको नारायण नगरपालिका सुचारु गर्न थालेको छ । नगरपालिकाले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विकास निर्माण ठप्प रहेको भन्दै विकास निर्माणका केही काम अगाडि बढाउन लागेको हो । कोरोना जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गरी विकास निर्माणको कार्यलाई अगाडि बढाउन लागिएको नगरपालिकाले जनाएको छ ।
कर्णाली प्रदेश सांसद विकास कोषको रकमबाट निर्माण थालिएका योजनाहरू, नारायण नगरपालिका वडा नम्बर ३ र ७ को वडा कार्यालयको भवन निर्माणका कामहरू सुचारु गरिएको छ । त्यस्तै प्रदेशको समपुरक बजेट अन्तर्गत ६० प्रतिशत प्रदेश र ४० प्रतिशत नगरको साझेदारीको रकमको डेकेन्द्रचोक देखि कुसाडा हुँदै श्रीस्थान जाने सडकको काम पनि सुरु गरिएको छ । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाईको अनुदान अन्तर्गत नारायण नगरपालिका –१० मा रहेको हिमालय मावी र वडा नम्बर ३ को तीन कोठे ट्रष्ट भवनको कामपनि सञ्चालनमा आएको बताईएको छ ।


प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा नारायण मन्दिर देखि कारागार जाने नाली निर्माणको काम भईरहेको इन्जिनियर हिक्मत रोकायले बताए ।
उपभोक्ता समिति र निर्माण कम्पनीहरुलाई समयमै काम सक्न ताकेता गरेको इन्जिनियर रोकाय बताउँछन् । कामदार र निर्माण सामग्रीको अभावका कारण कतिपय योजनाको काम सूचारु गर्न नसकिएको उनले बताए ।
लकडाउनका कारण ठप्प रहेका विकास निर्माणका योजनाहरु स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सामाजिक दुरी कायम गरी सुचारु गर्न उपभोक्ता समिति र निर्माण कम्पनीहरुलाई आग्रह गरेको नगरप्रमुख रत्नबहादुर खड्काले बताए । उनले निर्माण सामग्रीको सहज आपुर्ती भएसँगै नगरका अन्य विकास निर्माण कार्य सुचारु गरिने बताए ।

समाचार