Loading... आजः २०७८ बैशाख २३, बिहीबार

जनशक्ति अभावले भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

सुर्खेत । दोस्रो चरणको कोरोनाले कर्णाली पनि आक्रान्त बनेको छ । कोरोना संक्रमितहरुको दर दिन प्रतिदिन बढ्दो मात्रामा छ ।
अघिल्लो चरणको कोरोना संक्रमणको समयमा भएका तयारी अनुसारका काम पनि अहिलेसम्म पूरा भएका छैनन् । कोरोनाको पहिलो चरणमा क्वारेन्टाइनदेखि आईसोलेसनका लागि ठाउँ बनाएर काम गरिएको थियो तर अहिले नत क्वारेन्टाइन बनाइएको छ न संक्रमित भएका सबैलाई अस्पताल नै भर्ना गरिएको छ ।
गम्भीर प्रकृतिका बिरामीलाई मात्रै अस्पताल भर्ना गरिएको छ भने संक्रमण देखिएका सामान्य बिरामीलाई घरमै सुरक्षित बस्न भनिएको छ । प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा.केएन पौडेलले गम्भीर प्रकृतिका बिरामीलाई मात्रै अस्पताल भर्ना गरिएको बताए ।
‘संक्रमित सबैलाई अस्पताल भर्ना गर्ने अवस्था छैन’, डा. पौडेलले भने, ‘संक्रमित बिरामीको अक्सिजनको मात्रा जाँचेर हामीले बिरामीलाई घरमा नै सुरक्षित भएर बस्न सुझाव दिने गरेका छौं ।’ अघिल्लो चरणमा कोरोनाका बिरामीलाई मध्यनजर गर्दै कर्णालीमा भेन्टिलेटर, आईसीयू, अक्सिजन जस्ता सेवाहरुको विस्तार गरिएको थियो ।
तर, पनि जटिल प्रकृतिका संक्रमितका लागि अत्यावश्यक सेवाहरु जस्तै अक्सिजन, आईसीयू र भेन्टिलेटर जस्ता सेवाहरू कर्णालीमा पर्याप्त मात्रामा त छैनन् नै साथमा भएका सेवाहरु पनि सञ्चालनमा नै छैनन् । कर्णालीका १० जिल्लामध्ये मुगु, कालिकोट, दैलेख, सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जिल्लामा अक्सिजन प्लान्ट छैन । ती जिल्लाले बाह्य जिल्लाबाट अक्सिजन खरिद गरेर बढीमा दश जना बिरामीलाई मात्रै सेवा दिन सक्ने ती अस्पतालहरुले जनाएका छन् । सुर्खेत, जुम्ला र हुम्लामा अक्सिजन प्लान्ट छ । तर, हुम्लामा विद्युत् अभावका कारण अक्सिजन उत्पादन हुँदैन । बाह्य जिल्लाबाट अक्सिजन सिलिन्डर आपूर्ति गरेर हुम्लामा २३ वटा बेडमा अक्सिजन सेवा दिन सकिने क्षमता छ । सुर्खेतमा भएको एउटा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छैन् भने अर्को प्लान्ट बिग्रेको अवस्थामा छ, एक हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रदेश अस्पतालले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३०० बेड र प्रदेश अस्पताल सुर्खेतमा ४० बेडबाट अक्सिजन दिन सक्ने अवस्था छ । सुर्खेत र जुम्लामा पनि न्यून मात्रामा (दैनिक ८ देखि १० सिलिन्डर) अक्सिजन उत्पादन हुने क्षमता छ । तर अहिलेकै गतिमा संक्रमण फैलिए कर्णालीमा अक्सिजन अभाव हुने प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलको भनाइ छ ।
अक्सिजन प्लान्ट मात्रै होइन, कर्णालीका सात जिल्ला अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटर सेवा पनि प्रयोगविहीन छन् । जनशक्ति अभावका कारण सुर्खेत, जुम्ला र हुम्ला बाहेकका जिल्ला अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू सेवा सञ्चालनमा आएका छैनन् । जाजरकोटमा भौतिक संरचना र जनशक्ति अभावका कारण आईसीयू र भेन्टिलेटर थन्क्याइएका छन् । रुकुमपश्चिममा आईसीयू र भेन्टिलेटर बेडहरू तयार भए पनि जनशक्ति अभावका कारण प्रयोगविहीन छन् ।
मुगुमा आईसीयू र भेन्टिलेटर भवन छुट्याइएको छ । तर, जनशक्ति अभावमा त्यहाँ पनि आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन् ।
डोल्पा, कालिकोट, दैलेख र सल्यानका अस्पतालमा पनि भेन्टिलेर र आईसीयू सेवा छ तर जनशक्ति अभावले सञ्चालनमा आउन सकेका छैनन् ।
अक्सिजन, जनशक्ति र भौतिक पूर्वाधार अभावका कारण आईसीयू र भेन्टिलेटर प्रयोगविहीन बनेको सम्बन्धित अस्पतालहरूले जनाएका छन् ।
कर्णाली प्रदेशभर ६२ वटा आईसीयू बेडहरू छन् । जसमध्ये हुम्ला, कालिकोट र दैलेखमा पाँच÷पाँच वटा, मुगु, जाजरकोट, रुकुमपश्चिम र सल्यानमा दुई÷दुईवटा, प्रदेश अस्पताल सुर्खेतमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० र चौरजहारी अस्पताल रुकुमपश्चिममा चारवटा आईसीयू बेडहरू छन् ।
त्यस्तै प्रदेशभर कुल २७ भेन्टिलेटर बेडहरूमध्ये जाजरकोट, रुकुमपश्चिम, सल्यान, डोल्पा र मुगुमा एक÷एक, हुम्ला, कालिकोट र दैलेखमा दुई–दुई, प्रदेश अस्पताल सुर्खेतमा १० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ६ बटा रहेका छन् ।
जटिल प्रकृतिका बिरामीको उपचारका लागि आईसीयू र भेन्टिलेटर सेवा अत्यावश्यक मानिन्छन् । प्रदेशमा भने भएका उपकरणहरू पनि जनशक्ति नहुँदा प्रयोगमा ल्याउन सकिएको छैन । यता कर्णाली प्रदेश सरकारले भने संक्रमणको अवस्था जटिल भएको खण्डमा जनशक्ति व्यवस्थापन गरेर सबै आईसीयू र भेन्टिलेटर सेवा सुरु गर्ने दाबी गरेको छ ।
आपतकालीन अवस्था आए सबै सेवा सञ्चालनमा ल्याउने प्रदेश सरकारकी प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले दाबी गरिन् । -नेपाल वाचबाट