हत्या गरेर घर भित्रै गाडेको अवस्थामा शव भेटियो
विराटनगर : विराटनगर महानगरपालिका–१४ झटियाइमा हत्या गरेर आफ्नै घर भित्र गाडेको अवस्थामा बुधबार साँझ एक पुरुषको शव फेला परेको छ। घर भित्रै खनेर पुरेको अवस्थामा ५५ वर्षीय सत्यराम चौहानको शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।
एसपी अधिकारीका अनुसार हत्या गरेर चौहान सुत्ने खाटकै साइटमा लगभग दुई/तीन फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको हो। ‘खनेर आफ्नै घर भित्र शव गाडिदिएका कारण हत्या हो भन्ने प्रष्ट हुन्छ,’ उनले भने, ‘साँझका बेला शव फेला परेका कारण सबै कुरा प्रष्ट खुलिसकेको छैन।’
प्रहरीका अनुसार सत्यरामका तीन छोरा थिए। उनी जेठो छोरो २९ वर्षीय रोहित चौहानसँग घरमा बस्दै आएका थिए। माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे। कान्छो छोरो भने चार÷पाँच वर्षदेखि वेपत्ता रहेको र अहिलेसम्म परिवारको सम्पर्कमा नरहेको पाइएको प्रहरीको भनाइ छ।
जेठो छोराको भने बिहे भएको छैन। सत्यराम बेलाबखत माइलो छोराको डेरामा पनि पुग्ने गरेका थिए। प्रहरीका अनुसार बुवा आफ्नोमा नआएको लामो समय भएको भन्दै माइलो छोरो नागेन्द्रले सुरुमा बुवाको मोबाइलमा फोन गरे। ‘फोन नगलागेपछि साँझ उनी बुवा र दाजु बस्ने घरमा पुगेको पाइयो। ढोका र झ्यालसमेत नलगाएको तथा सबैतिर खुलै छाडिएको घरमा उनले दाजु र बुवालाई भेटेनन्,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘घर भित्र पसेर हेर्दा बुवा सुत्ने खाटको छेउमा केही दिन अघि खनेको माटो देखे। शंकास्पद लागेपछि उनले प्रहरीलाई खवर गरे।’
त्यस लगत्तै कर्कटपातको छानो भएको र काठले बनाएको चौहानको एक तले घरमा पुगेको प्रहरी टोलीले खनेर हेर्दा हत्या गरेर घर भित्रै गाडेको अवस्थामा शव फेला पारेको एसपी अधिकारीको भनाइ छ। प्रहरी घरमा पुग्दा जेठो छोरो रोहित घरमा थिएनन्।
रक्सीले मातेको अवस्थामा केहीबेरपछि आइपुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रक्सीको नसामा रहेका उनले आफू घरमै रहे पनि दिनभर काममा जाने र केही दिनदेखि बुवालाई आफूले समेत नदेखेको प्रहरीलाई बताएका छन्।
‘कहिले काहीँ भाइ (माइलो छोरा)कोतिर पनि जानुहुन्थ्यो,’ उनलाई उद्धृत गर्दै प्रहरीले भन्यो,‘ त्यतै जानु भएको होला भनेर मैले पनि खोजी र वास्ता गरिन।’ एसपी अधिकारीकाअनुसार शव एवं घटनास्थलको अवस्था हेर्दा चार÷पाँच दिन अघि नै हत्या गरेर पुरेको जस्तो देखिन्छ। घटनाको अनुसन्धान अघि बढाउँदै सत्यरामका जेठो र माइलो दुवै छोरामाथि सोधपुछ गर्ने काम भइरहेको जानकारी उनले दिए।
रात परिसकेका कारण शरीरको कुनकुन भागमा चोटपटक थियो भनेर राम्ररी हेर्न नसकिएको उनको भनाइ छ। कसले हत्या गरेको र कसरी घटना भयो भन्ने बारेमा विस्तृत रुपमा अनुसन्धान अघि बढाइएपछि वास्तविकता बाहिर आउने जानकारी एसपी अधिकारीले दिए।
प्रहरीले शव उत्खनन् गरेर बाहिर निकाल्दै पोस्टमार्टमका लागि कोसी अस्पताल पुर्याएको छ। -अन्नपुर्णा बाट








