Loading... आजः २०८३, २७ जेष्ठ बुधबार

प्रवासीको चिठ्ठि (कविता)

नेपाली जति बस्दछौ घर महा मेरो नमस्कार छ ।
आमामा दण्डवत गरेर पहिले पिताजिमा ढोग छ ।
आर्शिवाद छ भाइ बैनीहरुमा सब मित्रमा सम्झना
आरामै रहि बस्दछौ सब यहा गर्दै कुशलकामना ।।

लेख्देै कागजमा बयान गरदै प्रवासको द्रुर्दसा ।
आयौ आज यहाँ कमाई गरने त्यो आसले सर्वदा ।।
भारतकै छ विशाल देश त्यसको कुना अनि कन्दरा
बस्छौ घोर अपमान सहेर अहिले गोर्खा बहादुर बरा

साना भाई कठै रुदै दिनदिनै मस्काउदै बर्तन
कोठा, आगन, घर जुठेन दुखले धुन्छन सदा लेट्रिन ।।
हप्की–दप्की सहेर बस्नु छ सदा खाएर झन थप्पड
मागौ के गरी त्यो तलव र तनखा दिदै छ सेठ झापड ।।

लोभ्–लालच् छलछाम् परेर अहिले बैनी बिकिन् कोठीमा
रुन्छिन बैनी सदा उराठ मनले त्यो काल कोठरीमा
सम्झी देश र गाउँघर् तिनी सदा रोएर टोलाउछिन्
हाम्री चेली बसेर झ्याल बीचमा ग्रहाक बोलाउछिन ।।

त्यो हिमाचल, उत्तराञ्चल अनि कास्मीर जम्बु तबि
बस्छौं कुल्ली कवाडी नोकर बनी यस्तै छ हाम्रो छबी
भारी बोकी चुहाई नित्य पसिना चडेर हिमालमा
फोर्दै पत्थर घन सब्बल लिई ठेला प¥यो हातमा ।।

खानीमा पुरीया म¥या कति जना क्यै छैन गन्ती यहाँ
फुट्यो शिर कठै रहेन उनको उड्यो परानी यहा
आमाबाबु कहाँ सहोदर कहाँ ती भाई बन्धु कहाँ
कुकुर कै सरीको भयो मरण त्यो कसलाई भन्ने कहाँ

भारतका अति ठूल्ठूला नगरमा हामी जती बस्दछौ ।
चौकीदार र नोकर बनी सदा सेवा टहल् गर्दछौँ ।।
धुन्छौँ गाडि ती सेठका घर महाँ पानी चडाई दिने ।
जो काम भन्छ सुटुक्क गर्दिनु प¥यो उस्कै गुलाम बन्दिने ।।

गद्र्रै यदि काम भने उही बखत् त्यो नोकरी नै गयो ।
दिन्नन् निष्ठुर तलब् पनि कठै लौ आज यस्तै भयो ।।
यस्तै बस्नुपर्छ बाध्य भैकन यहाँ कालापहाडि बनी ।
साहुको ऋण तिर्न फेरि कपडा लत्ता कमाउन भनी ।।

आएको यति वर्ष भो तर पनि दम छैन एक हातमा ।
घर्मा के गरी आउँ खालि अहिलो रित्तो शरीर साथामा ।।
त्यहाँको सब हालचाल जति हो लेखेर एक पत्रमा ।
छोडी डाँक महाँ पठाइदिनु है आशषिको साथमा ।।

गंगाराम उपाध्याय
भैरवी –३,कोइराला गाउँ,दैलेख
हाल ः मधुवन–१,सूर्यपटुवा बर्दिया

समाचार

सम्बन्धित समाचार