Loading... आजः २०८२, ८ जेष्ठ बुधबार

प्रकृतिको प्रतिकार

तिम्रा ती विज्ञानका परिभाषाहरूमा
तिम्रा ती धर्मग्रन्थका विचारहरूमा
तिम्रो र मेरो जन्मको समय द्विविधा होला
तर पनि तिम्रो र मेरो जन्म एक–अर्काको परिपूरक थियो
एउटा पारस्थितिक शृंखला थियो।।।

तिम्रा गासवास कपासहरूमा
अनावश्यक विकासका नासहरूमा
शक्तिका विभिन्न आडम्बरहरूमा
प्रक्षेपणका विभिन्न नाटकहरूमा
मेरो अस्तित्वमाथि
सधैँ हमला गरिरह्यौ
केवल मानव तिमीले।।।

मेरा सुन्दर हिमशृंखलाहरूमा
मेरा सुगन्धित प्राकृतिक छटाहरूमा
कुना, कन्दरा, सुसेली र लटाहरूमा
तिमीले विनाशकारी हमला गरेर
धमिलो लेप लगाइदियौ
मेरो रूपरंगहरूमा
कुरुपताको अमिट दाग लगाइदियौ
मानव तिमीले
केवल मानव तिमीले।।।

मेरो शान्त, सौम्य, शालीनताहरूमा
मेरा चौतारी भन्ज्याङहरूमा
मैले नाच्ने आँगनहरूमा
मैले रम्ने रंगीन बारीहरूमा
मैले हिँड्ने आलीहरूमा
तिमीले बह्मलुट बर्साइरह्यौ
मानव तिमीले
केवल मानव तिमीले।।।

तिम्रा ती अति अत्याचारहरूले
कहिले अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिसँगै
कहिले रोग, भोग र शाेकहरूसँगै
हावा, हुरी,चट्याङ बनेर
कम्प, परकम्प र छाल बनेर
बाढी, पहिरो र भेलसँगै
विविध प्राकृतिक विपत्ति बनेर
तिम्रा कुकृत्यहरूलाई प्रतिकार गर्न
मलाई निम्तो गरिरहन्छौ
मानव तिमी
केवल मानव तिमी।।।

आज तिमीलाई नजरबन्दभित्र राखेर
म खुसीको अनुपम उन्मादमा छु
मैले सुसेली हाल्ने डाँडापाखाहरू
भरिपूर्ण ऋतुहरूका काखहरू
मेरा चौतारी अनि मझेरीहरू
नाच्दै हिँड्ने वयली र सहेलीहरू
सन्ध्यासँगै बिहानीहरू
निस्फिक्री स्वतन्त्र भएर रमेका छन्

तिम्रा सीमा, सम्पत्ति, शक्ति  सत्ताका लडाइँहरू
मोज, भोज र भत्ताका बढाइँहरू
पूर्णता सफलता प्राप्तिका मातहरू
विलासीका अतृप्त आसहरू
सबै एकातिर थन्क्याएर
केवल एक मुठी सासका लागि
लुकिरहेका छौ हाेइन
मानव तिमी
केवल मानव तिमी।।।

विज्ञानका तिम्रा चमत्कारहरूमा
मेरो अस्तित्व मेटाएर पनि
एक्लो विजेता बन्छु भन्ने तिमी
तिम्रो विज्ञान हारेर खुच्चिङ भयौ हाेइन
अन्वेषक र आविष्कारले
लडाँ जित्ने तिम्रो घमण्ड
एक कायर शत्रु बनेर हाऱ्यौ हाेइन
आफैँले आफैँलाई हराएर
यो रणभूमि र कुरुक्षेत्रमा
हारेर शिथिल भयौ हाेइन
मानव तिमी
केवल मानव तिमी।।।