Loading... आजः २०८३, ३ बैशाख बिहीबार

मेरो त के छ ?

मैले नबगाएको भए पसिना

मैले न चुहाएको भए रगत
मैले घर मै नथन्काएको भए बुढा बा र आमा
मैले नबिर्सिएको भए प्यारीको अङगालो
मैले नबिर्सिएको भए लालाबालाको छुनुमुनु
मैले नबिर्सिएको भए मेरो गाउँ
र, मैले नसाटेको भए जीवनसँग रहर
पक्कै बन्ने थिएन
तिम्रो शहर

ओ शहर !
तिमी यति निष्ठुर छउ, भन्ने थाहा पाएको भए
तिमी ,यति कठोर छउ, भन्ने चाल पाएको भए
पक्कै तिम्रो झिलिमिलिमा
म, आउने थिइनँ
तिम्रो बनावटी झिलिमिली निभेपछि
तिमी, तिम्रो असली रुपमा आएपछि
म, पाइतालै कै भरमा फिर्दैछु
भक्कानिएको मुटु लिएर हिँड्दैछु
बल्ल तिमीलाई चिन्दैछु
मलाई रोक्ने प्रयास नगर्नु
तिम्रो त सरकार छ,
मेरो त के छ ?

धिक्कार तिम्रो भव्यतालाई
थुक्क तिम्रो सभ्यतालाई
सेल्फी खिच्ने चामलका पोकोले
दानवीर बन्ने तिम्रो धोकोले
ऐठन हुन्छ मलाई, गाँसै पिच्छे
जब देख्छु, तिम्रा भिक्षाहरुमा आफ्नै श्रमको मोल
जब देख्छु, मेरो भोक माथीको समाचार
लाग्छ, तिम्रो त अखबार छ
मेरो त के छ ?

अह !! अब मलाई फर्की नभन्नु
मलाई रोक्ने प्रयास त गर्दै नगर्नु
आफ्नै खोरियामा दशनङ्ग्रा खियाउने हिम्मत
आएको बेला,
तिम्रो रवाफ नदेखाउनु
सरकारि रासन देखाउदै मलाई नगिज्याउनु
नलाग्नु थियो घाउ लागि सक्यो
अब खाटो बस्दै गर्दा नकोट्याउनु
तिम्रो आलिसिनता ,तिमिलाइ नै छोडे
तिम्रो सम्पन्नता, तिमिलाइ नै छोडे
भुलेर पनि मलाई रोक्न,
जोडबल नलगाउनु, बुट नबजार्नु
मेरो थेत्तरो भएको मुटु, रन्कियो भने !
तिमिले धेरै थोक गुमाउनुपर्छ,
सबै मोल चुकाउनुपर्छ,
तिम्रो पो, सबथोक छ
मेरो त के छ ?

समाचार