Loading... आजः २०७८ बैशाख २३, बिहीबार

‘भड्काववादको पछि नलागौं नेपालमा केपी ओलीको विकल्प छैन्’

रविन्द्रराज शर्मा

दैलेख कर्णाली प्रदेशकै दोस्रो बढी जनघनत्व भएको जिल्ला हो । दुई संघीय र चार प्रादेशिक निर्वाचन क्षेत्र रहेको दैलेखमा करीब तीन लाख जनसंख्या पुगेको अनुमान छ । दैलेखलाई नेकपाको गढको रूपमा पनि चिन्ने गरिन्छ । दैलेखको निर्वाचन क्षेत्र नं. २ मा पछिल्ला निर्वाचनमा कम्युनिष्टले नै लगातार निर्वाचन जित्दै आएको छ । निर्वाचन क्षेत्र नं. १ मा कांग्रेस र नेकपाको कडा टक्कर हुँदै आएको छ । यति हुँदाहुँदै पनि अहिले नेकपा दुई चिरा हुँदा कांग्रेसलाई चिट्ठा पर्ने सम्भावना देखिएको छ । नेकपाको बर्चस्व भएको दैलेखमा अहिले प्रष्ट रूपमा दुई खेमामा वडा तहसम्म कार्यकर्ता बाँडिएका छन् ।
नेकपा प्रचण्ड–नेपाल समूहले यसै साता जिल्ला कमिटीको बैठक सम्पन्न गरेको छ । ११ वटा पालिका रहेको दैलेखमा सात वटा पालिकामा नेकपाले विजय प्राप्त गरेको थियो । तीमध्ये आठबिस नगरपालिका, नारायण नगरपालिकाका नगरप्रमुख ओली समूहमा लागेका छन् । ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष पनि ओली समूहमा नै रहेको ओली समुहका नेताहरुको दाबी छ । चामुण्डाविन्द्रासैनी नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका र भगवतीमाई गाउँपालिकामा प्रचण्ड–नेपाल समूहका जनप्रतिनिधि छन् । यसरी हेर्दा जिल्ला कमिटीमा प्रचण्ड–माधव नेपाल समूहकै बढी सदस्य भएको देखिन्छ ।
नेपाल कम्युनिष्ट पार्टी दैलेखका अध्यक्ष रवीन्द्रराज शर्मा प्रतिनिधिसभा सदस्य पनि हुन् । उनि प्रधानमन्त्री केपी शर्मा ओली समुहका नेता हुन् । हाल काठमाडौंमा रहेका अध्यक्ष शर्मासँग पत्रकार शेरबहादुर थापाले जिल्लाको राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सारः


दैलेखमा नेकपा विभाजन भइसकेपछि तपाईं सहभागी समूहको अवस्था कस्तो छ ?
एकदमै राम्रो छ । हामी अग्रगमनका पक्षधर हौं । जनता भन्दा ठूलो कोही छैन । जनताको मतको आधारमा हामी अहिले पनि एक नम्बरमा नै छौं । अझ भन्ने हो भने प्रधानमन्त्री ओलीको राष्ट्रप्रेम, देशभक्तिका कारण हामी थप सबल हुन्छौं । हामी अन्य कोही पनि समूह या दल भन्दा कम छैनौं ।
यो कसरी भन्नुहुन्छ ?
१४५ सदस्यीय जिल्ला कमिटीमा २० जना पूर्व माओवादीका साथीहरू आइसक्नुभएको छ । नेपाल समूहका पनि अधिकांश साथीहरू आउँदै हुनुहुन्छ । धेरै आइसक्नुभएको छ । हामी जिल्ला कमिटीमा पूर्ण बहुमतमा छौं । अहिले संख्या नै भन्न आवश्यक म ठान्दिनँ । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्रीय कमिटीमा हाम्रो बहुमत छ । तीन वटा प्रदेश कमिटीमा पनि हाम्रो बहुमत छ । पालिकामा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का, आठबिस नगरपालिका प्रमुख खड्गराज उपाध्याय र ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही हाम्रै पक्षमा हुनुहुन्छ । यसरी हेर्दा ठूलो जनसंख्या भएका पालिकामा पनि हाम्रो पक्षको पकड छ । यसले के सन्देश दिन्छ भने हामी दैलेखमा एक नम्बरमै छौं ।
केन्द्रमा ओलीले गरेजस्तै अब भेला, बैठक मनोनीतको कार्यक्रम चलाउनुहुन्छ होला नि उसो भए ?
अहिलेलाई केही समय बाँकी छ । केही समयपछि मात्रै हामी त्यो अभियान शुरू गर्छौँ । पहिले निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसला कुरिरहेका छौं । कानूनी प्रक्रिया टुंग्याएर आधिकारिकता पाइसकेपछि हामी शुरू गछौँ । हरेक जनताका घरमा हामी पुग्छौं ।
तपाईंको अभियान पछि शुरू हुने भन्नुभयो । तर अर्को समूहले भेला, बैठक शुरू गरिसकेको छ नि ?
उहाँहरू के गर्नुहुन्छ त्यो हाम्रो सरोकारको विषय भएन । म सबै कार्यकर्ता, जनताको प्रत्यक्ष सम्पर्कमा छु । हरेकलाई भडकावपूर्ण कार्यमा नलाग्न आग्रह गरिरहेको छु । यो आन्दोलन भनेको कुनै व्यक्ति यता वा उता भन्ने होइन । यो मुलुकको कम्युनिष्ट आन्दोलनको चरमोत्कर्ष हो । विदेशी ताकतसँगको अन्तरविरोधको उच्चतम रूप हो । यो नेपालको शान्ति, स्थिरता, स्थायित्व, राष्ट्रिय एकता र स्वाभिमान विरोधी विरुद्धको मोर्चाबन्दी हो र नेपालको कम्युनिष्ट पार्टी त्यो आँधीबेहरीसँग जुध्छ । त्यसैले त्यो शिराबाट राजनीति बुझ्नुपर्छ । तल को कता लाग्छ, कता लाग्यो भन्ने कुरा अस्थायी हुन् । यस्ता केही आन्दोलनको अर्थ छैन । चुनावमा ताकत देखाउन सक्नुपर्छ । हामी दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनाव जित्छौं । हामी एक्लै चुनाव लड्छौं ।
अध्यक्ष तपाईं हुनुहुन्छ सचिव अर्को पक्षका छन् । उनीहरूलाई कारबाही गरेर अघि बढ्नुहुन्छ कि ?
उहाँहरूलाई हामीले किन कारबाही गर्ने ? उहाँहरू नयाँ पार्टी बनाएर अघि बढ्नुहुन्छ । आफैं हिंडिरहनुभएको छ । कुम्लो कुटुरो बोकिरहनुभएको छ । खाली ठाउँमा पछि हामी भरौंला नि । उहाँहरू आफैं जानुहुन्छ । असल, योग्य र क्षमतावान कामरेडलाई जिल्ला कमिटीमा ल्याउँछौं ।
केपी ओली पदलोलुप भए, आफ्नालाई जागिर खुवाउन मरिहत्ते गर्ने, सके प्रधानमन्त्री आफैं हुने नसके कसैलाई हुन नदिने ओलीको इगोले प्रतिनिधिसभा विघटन गरायो भन्ने हल्ला चारैतिर छ, के हो वास्तविकता ?
अन्धाले देख्ने र बहिराले सुन्ने भने जस्तै त्यो कुरा हो । त्यो देखिएकै छ । अर्को महाधिवेशनमा अध्यक्ष लड्दिनँ, अर्को निर्वाचनमा दुई तिहाइ बनाइदिन्छु प्रधानमन्त्री तपाईंहरू हुनुहोस् । यसको पनि विधि छ, प्रक्रिया छ । अस्थिरता, गञ्जागोल नगर्नुहोस् भनेर बारम्बार जनताको बीचमा उहाँले भन्दै आउनुभएको थियो । केपी ओलीलाई कसरी पदको लोभी भन्ने ? साथीहरूलाई रहेछ । पार्टीको वैधानिकताको बारेमा निर्वाचन आयोगले फैसला गरेको छैन । उहाँहरूले तात्तातो जनताका बीचमा जानै पर्ने । त्यति पनि धैर्य छैन ? यस्ता आरोपको काम छैन । यस्ता आरोपको डटेर सामना गरिन्छ ।
केपी ओली प्रधानमन्त्री भइरहँदा कर्णालीलाई के दिए ?
केपी ओली प्रधानमन्त्री हुँदा समृद्धिका कुरा, स्रोतसाधन बढी दिएका छन् । कर्णालीका तीन वटा राजमार्ग निर्माणमा जोड दिनु, अन्य प्रदेश भन्दा बढी बजेट कर्णालीका लागि पठाउनु, कार्यक्रमहरू पर्याप्त आउनु, यो के हो ? आएको बजेटलाई कार्यान्वयन गर्नु त प¥यो नि । मन्त्री पाउने नपाउने भन्दा पनि काम गर्न सक्नुपर्छ । मन्त्रीको रूपमा शक्ति बस्नेत थिए, राज्यमन्त्री पनि कर्णालीले पाएकै थियो । तल मुख्यमन्त्री छन् । कर्णालीले केही पाएन भन्ने कुरा होइन ।

कर्णालीमा प्रदेश प्रमुख, मन्त्री वा नेकपाकै कर्णाली संयोजक हुने हैसियत राख्ने नेता नै नभएको हो त ?
कर्णालीका साथीहरू पनि क्रमशः आउँछन् । नेकपाको कर्णाली संयोजक छान्ने कुरामा स्थायी कमिटीबाट ल्याउनुपर्ने भएका कारण संयोजकमा मणि थापा आउनुभएको हो । विगतमा दुई वटा स्थायी कमिटीमा सदस्य थिए । आगामी दिनमा साथीहरू कर्णालीकैले नेतृत्व गर्ने अवस्थामा हामी पुग्छौं ।
अबको बाटो के हुन्छ ?
नेपालको कम्युनिष्ट पार्टीको रक्षा गर्नु सबैको दायित्व हो । त्यसमा पनि कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूको प्रमुख दायित्व हो । यस्तो समयमा अनावश्यक गतिविधिमा लाग्नुहुँदैन । पार्टीको प्रथम अध्यक्षको हैसियतले पार्टीको पुनर्गठन गरेर अध्यक्ष अघि बढ्नुभएको छ । लोकतान्त्रिक विधि र प्रक्रिया समातेर निर्वाचनको घोषणा गर्नुभएको छ । पार्टीभित्रका पूर्व प्रधानमन्त्रीले जहिल्यै कुरा नमानेपछि के हुन्छ अवस्था ? जो प्रधानमन्त्री भए पनि आफ्नैबाट निरन्तर हुने हो । असहयोगले सफल हुन सकिंदैन ।
अब चुनावमा जाने हामीले तयारी गरेका छौं । जनतामा गएर, को कति सत्य नजिक छ भन्ने कुरा आम जनताले देखाउने छन् । यसलाई अन्यथा नमानेर जनताको बीचमा जान आवश्यक छ । चुनाव चिन्ह चाहियो, पार्टी चाहियो भन्दै हुनुहुन्छ साथीहरू । चुनावमा जाने भए हाम्रो चुनाव चिन्ह किन चाहियो ? जनमत लिन डराउनेहरू यसरी जनतालाई भ्रममा पार्दै आइरहेका छन् ।
संसद पुनर्बहाली गर्ने चाहना भए उहाँहरूलाई किन चुनाव चिन्ह चाहियो ? उहाँहरू यही संसदबाटै प्रधानमन्त्री र राष्ट्रपति बनाउन चाहनुहुन्छ । त्यस्ता कुराहरूको बारेमा हामी आम जनतामा कुरा राखौंला । अहिलेका लागि त्यस्ता भडकाववादमा नलाग्न सबै दैलेखी कम्युनिष्ट कार्यकर्ता, नागरिकलाई आग्रह गर्दछु । ओलीको विकल्प नेपालमा छैन । उहाँ राष्ट्रवादी नेता हो । देशी–विदेशी शक्तिसँग कहिल्यै नझुक्ने ओलीको पक्षमा सबै लाग्न जरूरी छ ।


सम्बन्धित समाचार