Loading... आजः २०८२, २४ फाल्गुन आईतवार

दोस्रो पुस्ताको भिजन चुनावदेखि चुनावसम्म केन्द्रित, नेतृत्व दाबी गर्ने आत्मविश्वास नै कमजोर

दुई महिनाअघि एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनेकी थिइन्– ‘नयाँ पार्टी बनाएर जाऔँ भनेर हामीलाई हिम्मत दिनुपर्ने हो, तर हामीले हिम्मत दिँदा पनि दोस्रो पुस्ता हिम्मत गर्दैनन् ।’

शाक्यले यसो भनिरहँदा एमाले विवाद मिल्ने छनकमा थिएन । प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद विघटन गरेका थिए । शाक्यलाई घनश्याम भुसालले ‘अहिले नयाँ पार्टी बनाउने बेला भएको छैन ।’

भुसालको तर्क थियाे, नयाँ पार्टी बनाउने तारतम्य मात्र होइन, परिस्थिति पनि बनेको छैन । दोस्रो पुस्ता दुःख नगर्ने खालकाे अवसरको खोजीमा छ भन्ने शाक्यको बुझाइ थियाे । शाक्यले एमालेभित्रका दोस्रो पुस्तामाथि जसरी दुःख नगरी अवसर खोज्ने प्रवृत्तिप्रति टिप्पणी गरेकी थिइन्, त्यही रोग माओवादी केन्द्र, कांग्रेस र जसपामा संक्रमित छ ।

भर नपर्दाे दोस्रो पुस्ता 

१९ असार ०७७ को विहानै तत्कालीन कृषि मन्त्री घनश्याम भुसालको क्वार्टरमा नेकपाका दोस्रो तहका नेताहरूको जमघट भयो । केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तीनै समूहनिकटका ११ जना नेताहरूले झण्डै तीन घण्टा विमर्श गरे ।

र, नेकपालाई विभाजनबाट रोक्न शीर्ष नेतालाई दबाब दिने सहमति जुटाए । भुसालको अग्रसरतामा योगेश भट्टराई, वर्षमान पुन, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, मणि थापा, शंकर पोखरेल, विष्णु रिमाललगायत ११ जना दोस्रो तहका नेताहरूको जमघटले सहमति जुटायो- शीर्ष नेताहरूलाई सहमतिमा ल्याउने ।

१९ असारको छलफलकै निरन्तरतामा २५ असारमा अर्को छलफल भयो, भुसालकै क्वार्टरमा । त्यतिबेला पनि अघिल्लो पटकमा उपस्थित नेताहरूको संख्या थपियो र १९ जना पुगे ।

समूहबद्ध यस्ता छलफलका अलावा दोस्रो पुस्ताका नेताहरूको सक्रियता निकै थियो, आपसी अनौपचारिक संवादहरू प्रशस्तै थिए । तर, उनीहरूको सहमतिको सुनवाइ शीर्ष नेताहरूले गरेनन् । सहमतिका लागि दोस्रो पुस्ताका नेताको सामर्थ्यले नभ्याएर नै नेकपामात्र विभाजन भएन, एमाले विभाजनको डिलमा पुग्यो । २ पटक संसद विघटन भयो ।

अहिले पनि एमाले मिलाउने क्रममा दोस्रो पुस्ताका १० जना नेता सक्रिय छन्, तर परिणाम निस्केको छैन । दोस्रो पुस्ताको कमाण्ड कमजोर भएकै कारण ओली र नेपालबीच एकता त परको कुरा संवादसमेत हुन सकेको छैन, जबकि २७ असारमा १०बुँदे सहमति जुटाएका १० भाइले २८ असारको ११ बजे ओली र नेपालबीच भेट गराउने सहमति गरेका थिए, जुन समय २२ साउनसम्म आइपुगेको छैन ।

कांग्रेसमा नेतात्रय अर्थात् गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाकालमा नै दोस्रो पुस्ताका नेताहरू शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए । रामचन्द्र पौडेल सभामुख भए । शैलजा आचार्य उपप्रधानमन्त्री भइसकेकी थिइन् । तर, कांग्रेसमा देउवा र पौडेलपछि कांग्रेस अर्को पुस्तामा ओर्लिन नै सकेन । २०५२ देखि २०७८ सम्म देउवादेखि देउवासम्म घुमिरहेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको बुझाइमा दोस्रो पुस्ताले नेतृत्वका लागि दाबी गर्न नसक्दाको परिणाम हो । घिमिरेको भनाइमा १२औँ महाधिवशेनमै दोस्रो पुस्ताले नेतृत्व दाबी गर्नुपर्ने थियो । घिमिरे भन्छन्, ‘जब तेस्रो पुस्ताले दाबी गर्ने थाल्यो अनिमात्रै दोस्रो पुस्ता नेतृत्वको कुरा गर्न थाल्यो अब त तेस्रो पुस्ता नै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका लागि दाबी गर्ने बेलामा पुगिसक्यो ।’

अहिले कांग्रेसमा दोस्रो पुस्ताका नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला, शेखर कोइरालादेखि तेस्रो पुस्ताका कल्याण गुरुङसम्मले नेतृत्वको दाबी गरेका छन् । पहिलो पुस्ताकै समकक्षी नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठहरू पनि नेतृत्वका दाबेदार छन् । केन्द्रीय सदस्य घिमिरेकै भनाइमा नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण त परेको कुरा समकक्षीलाई समेत सुम्पिन नसक्ने परिस्थिति कांग्रेसभित्र देखिएको छ । घिमिरे भन्छन्, ‘त्यसैले अहिले हामी दोस्रो पुस्ताको नेतृत्व तेस्रो पुस्ताको पदाधिकारी भन्ने पक्षमा छौँ ।’

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भने फरक मतमा देखिन्छन् । उनी पुस्ताकै कुरा गर्न चाहिँ उचित ठान्दैनन् । उनले  भने, ‘राजनीतिमा पुस्ता भन्ने कुरा मान्दिनँ ।’

दोस्रो पुस्ता हस्तक्षेपकारी हुन नसकेको गतिलो उदाहरण चाहिँ अहिले एमालेमा देखिन्छ । एमालेको दुवै समूहका दोस्रो पुस्ताा नेता न अध्यक्ष केपी ओलीलाई दबाब दिन सक्छन्, न वरिष्ठ नेता नेपाललाई नै ।

एमालेलाई एकताबद्ध बनाउनुपर्छ भन्ने मतसहित मध्यस्थकर्ताको झैँ भूमिकामा देखिने नेताहरूको सामर्थ्यमाथि उनीहरूको बालकोट-कोटेश्वर प्रतिफलविहीन यात्राले प्रश्न उठाउन थालेको छ । यो टिम ओली–नेपालको मिलनको पक्षमा उभिएको छ तर दबाबमुलक शक्ति भने कमजोर बन्दै गएको छ । अर्कातिर छुट्टै टिम त होइन भन्ने प्रश्न उठ्ने परिस्थिति निर्माण भएको छ ।

निरन्तर देखिएको अलमल र ओलीमाथि दबाब बढाउन नसक्दा १ सय २१ सांसदमध्ये नेता नेपालनिकट ४१ सांसदमध्ये आवश्यक परेका बेला २३ जनामात्रै काम लागे । नेपाल पक्षका खम्बा मानिएका योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडी, राजबहादुर बुढासम्मले अन्तिममा मौन बस्ने स्थितिआइदियो ।

खासमा घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टहरूसहितको मध्यमार्गी भनिएको टिममा करिब १७ जना सांसद रहेको मानिन्थ्यो । नेपाल समूहभित्रकै ती १७ जना सांसद पनि अहिले तितरवितर भइसकेका छन् । भट्टराईका विश्वासपात्र पहाडी ओली पक्षमा खुलेका छन् ।

नेपाल समूहका नेताहरू भुसाल, पाण्डे, विष्ट र भट्टराईहरू आउँदो महाधिवेशनबाट नेतृत्व दाबी गर्ने हैसियतमा पुग्छन् भन्ने विश्लेषण पनि थियो । तर, एमालेको अन्तरसंर्घषमा उनीहरूको भूमिकामाथि आफ्नै समूहबाट गम्भीर प्रश्न उठाइएको छ।  २१ र २२ साउनको केन्द्रीय कमिटीको बैठकमा उनीहरूप्रति प्रश्न उठाएका हुन् । र, उनीहरूको भूमिका अवसर केन्द्रितमात्रै देखिएको तेस्रो पुस्ताका नेताहरूको भनाइ छ । नेपालनिकट एक युवा नेताको दाबीमा एमालेका दोस्रो पुस्ताले आउँदो चुनावको हिसाबकिताबबाहेक केही गरेका छैनन्, त्यही जोडघटाऊले एकताको मुद्दा उठाइरहेका छन् ।

अनि, ओली पक्षका सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङको बोली ओलीले सुनुवाइ नगरेको प्रस्टै देखिन्छ । उनीहरू एकताको पक्षमा सहमति जुटाउने प्रयासमा कोटेश्वरमा छलफल गरिरहेका बेला ओली बोलिदिन्छन्- माधव नेपाललाई एमालेमा ठाउँ छैन । ओलीसामु त्यसको प्रतिवाद गर्न सक्दैनन्, उनीहरू । पदीय हैसियतमा दोस्रो पुस्ता तर केपी ओली र माधव नेपालका समकक्षी महासचिव ईश्वर पोखरेल पनि एमालेभित्र प्रभावहीन नेताकै रूपमा दरिएका छन् ।

निरन्तर संस्थापन पक्षमा उभिने पोखरेल एमालेको महासचिव नै दुईपटक भइसक्दा पनि पार्टीमा पकड विस्तार गर्न सकेका छैनन्, जसले गर्दा आउँदो महाधिवेशनमा उनी नेतृत्वको दाबेदार बन्ने देखिएको छैन । बरु, नेतृत्वको दाबीमा अगाडि देखिएका शंकर पोखरेललाई ओलीले पनि अगाडि ल्याउन खोजेकोसम्म देखिन्छ । तर, मुख्यमन्त्रीको हैसियतमा लुम्बिनीमा राज्यसत्ताको प्रयोग गरेर पद जोगाउनकै लागि संघीयतालाई बदनाम हुने परिस्थिति पोखरेलले नै निर्माण गरेका छन्, जसले गर्दा उनको व्यक्तित्व क्षयीकरण भइरहेको छ ।

दलभित्रको दोस्रो पुस्ताको समस्या माओवादीमा झन् विकराल छ । नेतृत्वमा झण्डै चार दशक नेतृत्व गरेका प्रचण्डले दोस्रो पुस्तालाई त परको कुरा समकक्षीलाई समेत नेतृत्व हस्तान्तरण गरेका छैनन् । र, तत्काल गर्ने छनक पनि दिएका छैनन् । नेतृत्वको लागि भन्दा पनि प्रचण्डको निगाहमा अवसरको खोजीमा दोस्रो पुस्ताका नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङ, गिरिराजमणि पोखरेलहरू सक्रिय देखिन्छन् ।

हेटौँडा महाधिवेशनपछि पार्टीमा महासचिव र सचिवका लागि यो पंक्तिबाट दाबीसम्म भयो तर ती दाबी प्रचण्डको आशिर्वादबाट लिने प्रवृत्तिसँग जोडिएको थियो । खासगरी नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, कृष्णबहादुर महरा दोस्रो पुस्ताबाट नेतृत्व दाबी गर्ने हैसियतमा हुन् । तर, उनीहरू नै प्रचण्डलाई चुनौती दिन हिम्मत गर्दैनन्, उल्टै प्रचण्डको सहयोगमा पार्टी सत्ता र राज्यसत्तामा अवसरको खोजी गरिरहेका छन् ।

एमाले, कांग्रेस र माओवादीको रोगबाट जसपाबाट संक्रमित भएको छ, त्यसको पछिल्लो रूप ११ साउनमा देखियो । अर्थात्, पार्टी विभाजनमा लागेका पहिलो पुस्ताका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, बाबुराम भट्टराईमाथि दोस्रो पुस्ताका नेताहरूले प्रश्न उठाउने हिम्मत गरेनन्, उल्टै गुट अदलबदल गरे पद जोगाउने खेलमा सामेल भए ।

पहिला पुस्ताका नेताहरूको जुँगाको लडाइँमा पर्दा जसपाका १२ जना संघीय सांसदको पद नै जोखिममा परेको छ । प्रदेश २ का एक दर्जन सांसद त्यही हालतमा छन् । जसपाका नेता मनिष सुमन पार्टीहरूमा दोस्रो पुस्ता हाबी हुन नसक्नुमा पार्टीको विधान नै समस्या ठान्छन् । सुमनको विश्लेषणमा पार्टीका अध्यक्षहरू नै सर्वेसर्वा हुने, पद हस्तान्तरण नगर्ने र हरेक स्रोतका लागि अध्यक्षको मुख ताक्नुपर्ने अवस्था छ । सुमन भन्छन्, ‘परम्परागत विधानका कारण नै दोस्रो पुस्ताका नेताहरू हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्दैनन् ।’

दोस्रो पुस्ताका तीन समस्या 

प्रमुख दलका दोस्रो पुस्ताका नेताहरूमा हस्तक्षेपकारी हैसियत देखिँदैन । पहिलो पुस्ताको नेतृत्वमाथि प्रश्न उठाउनसमेत हिम्मत गर्न नसक्ने बरु त्यही पुस्ताको छाया भनेर अवसरको खोजी गर्ने प्रवृति बढ्ता देखिन्छ । दोस्रो पुस्ताका नेताहरू दलभित्रका बैठकमा नेतृत्वको लाचार छाया बन्ने तर सार्वजनिक खपतका लागि वैचारिक र सांगठनिक प्रश्न उठाउँछन् ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको भनाइमा दोस्रो पुस्ताका नेताहरू व्यक्तिवादी, आत्मकेन्द्रित, पदलोलुपमात्र होइन, शक्तिकेन्द्रित मनोविज्ञानबाट ग्रसित छन् । तर, ज्ञवाली त्यस्तो मनोविज्ञान बन्नुमा समाजको बनोटलाई दोष दिन्छन् । ज्ञवाली भन्छन्, ‘राजनीतिक दलभित्रको दोस्रो पुस्ता अवसरकेन्द्रित छ, त्यस्तो हुनुमा सामाजिक बनोटसँग जोडेर हेर्नुपर्छ । समाज नै शक्तिकेन्द्रित छ । त्यसको प्रभाव दोस्रो पुस्ताका नेताहरूमा देखिन्छ ।’

ज्ञवालीले दोस्रो पुस्ताको मनोविज्ञान सामाजिक संरचनासँग दाँजेर विश्लेषण सुनाइरहँदा पार्टीहरूले संरचनागत अवस्था पनि विश्लेषण गर्नुपर्ने अवस्था छ, जहाँ शक्ति एकल व्यक्तिमा केन्द्रित पाटीहरू बनिरहेका छन् ।

जसपा नेता मनिष सुमनको विश्लेषणमा अध्यक्षमुखी विधानले नै दोस्रो पुस्ताका नेताहरूलाई नेतृत्व दाबीको हिम्मत दिएको छैन र समस्या पार्टीगत संरचनामा हो । राजनीतिक विश्लेषकको बुझाइमा दोस्रो पुस्ताका नेताहरूमा मूलतः तीन समस्या छन्, तिनै समस्याका कारण दलभित्रका अन्तरसंर्घषमा दोस्रो पुस्ता भूमिकाविहीन हुन्छ । समूहको नेताको फेरो समातेरमात्रै बहस गर्न खोजिरहेका हुन्छन् ।

एक, वैचारिक समस्या । विश्लेषकहरू राजनीतिको दोस्रो पुस्ताका नेताहरूमा विचारको तहमा समस्या रहेको ठान्छन् । अर्थ-राजनीतिक विश्लेषक हरि रोकाको भनाइमा समाज र राजनीतिलाई फराकिलो क्षितिजमा सोच्ने र विचार निर्माण गर्ने क्षमता कम देखिएको छ ।

दोस्रो, संगठनात्मक समस्या । खासमा दोस्रो पुस्ताका नेताहरू संगठक होइनन् । केही नेताहरू विद्यार्थी राजनीति गरेर आएको भए पनि आममानिससम्म पुगेर संगठन निर्माण गरेका नेताहरू होइनन् । रोका भन्छन्, ‘नेताहरूको चाकडी गरेर नेता भएको दोस्रो पुस्ताले तलको समस्या बुझ्दैन र आफूजस्तो अरुलाई त्यस्तै ठानेर व्यवहार गर्छन् ।’

शीर्ष नेताहरूमा निर्भर हुनुपर्ने दोस्रो पुस्ताका नेताहरूको बाध्यताप्रति राजनीतिशास्त्री कृष्ण पोखरेल पनि असहमत छैनन् । पोखरेल भन्छन्, ‘दोस्रो पुस्ताका नेताहरूमा त्यो हिम्मत देखिएको छैन । बरु शीर्ष नेताहरूको थाङ्ग्रो नपाई पार्टीको उपल्लो पदमा उक्लिन सकिँदैन भन्ने मनोदशा बढ्ता देखिन्छ ।’

तेस्रो, राजनीतिक समस्या । दोस्रो पुस्ताका नेताहरूमा वैचारिक समस्या देखिएका कारण राजनीति पनि कमजोर धरातलमा देखिन्छ । रोका भन्छन्, ‘उनीहरूमा राजनीति नै समस्यामा देखिएका कारण उनीहरूमा नेता भक्तिकेन्द्र जस्तो हुने अर्थात् गणेशप्रवृत्ति हाबी भएको छ, जसले फराकिलो क्षितिजमा सोच्न सक्दैनन् ।’

राजनीतिशास्त्री कृष्ण पोखरेलको भनाइमा दोस्रो पुस्ताका नेताहरूले कार्यकर्ता र जनताको सेन्टिमेन्टलाई साथ लिएर शीर्ष नेतालाई कि मिल कि छोड भन्ने आँट देखाउन सक्नुपर्छ । पोखरेल भन्छन्, ‘शीर्ष नेताहरूको कुखुरे छाती चौडा बनाउन दोस्रो पुस्ताले हस्तक्षेप गर्न सक्दैन, उल्टै लाचार छायामात्रै बनेका छन् ।’

त्यसमा कांग्रेस नेता गुरुराज घिमिरे भने दोस्रो पुस्ताका नेताहरूमा आत्मविश्वासमै समस्या देख्छन् । घिमिरे भन्छन्, ‘नेतृत्वको आर्शिवाद, समर्थन र निगाहबाट नेतृत्व र अवसर प्राप्त गर्न सकिन्छ भन्ने सोच नै आत्मविश्वास नभएको पुष्टि हो ।’