Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

फुटेको प्रतिपक्ष : जुट्न नसकेको कांग्रेस

अहिले हरेक कांग्रेसीहरूको अनुहारमा फरक खालको उत्साह र जाँगर देख्न पाइन्छ । गणितीय आधारमा असम्भव देखिएको सत्तारोहण ओली-प्रचण्ड र माधवको कर्तुतले कांग्रेसका लागि तालुमा आलु फले सरह हुन पुगेको छ । सत्तामा जाँदै जान्न प्रधानमन्त्री खाँदै खान्न भनेर पटकपटक पछि सरेका देउवाको असम्भव सपना पूरा भएको छ । राजनीतिको बक्ररेखा यति सम्म गुजमुजिएको हुँदो रहेछ कि हुनुपर्ने कुरा हुँदै नहुने हुनै नसक्ने कुरा पनि भएरै छोड्ने !

संघीय संसदमा एक चौथाई पनि पुर्‍याउन नसकेर थला परेको निम्छरो प्रतिपक्षले सत्ताको नेतृत्व पाउनु भनेको नेपाली समाजमा प्रचलित उखान ‘भाग्यमा भए गोरु पनि ब्याउँछ’ भने जस्तै हो । वास्तवमा नेपाली राजनीतिमा यसपटक गोरु पनि ब्याएको छ ।

अब मनन गर्नुपर्ने कुराचाहिँ यसरी ब्याएको गोरुले कति दूध देला भन्ने हो ! हो कांग्रेसी घरमा नसोचेको कुरा भयो । गाई त ब्याउँथ्यो ब्याउँथ्यो तर यो पटक त गोरु नै ब्यायो । लालाबालाहरू खुसीले गदगद छन् । घरमुलीहरूमा खुसीको सीमा नै छैन । यति धेरै खुसी र उमङ्ग हुँदा हुँदै पनि बिगौती खान पाइने विश्वासचाहिँ कसैलाई छैन ।

हिजो बीपी, किसुनजी र गणेशमानजीको सफल सामूहिक नेतृत्वमा फस्टाएको कांग्रेस आज दर्जनौँ गुट र उपगुटमा विभक्त छ । जसरी नेकपाको ध्वंसमा विध्वंसकारीको भूमिका खेल्नेहरू नेकपाभित्रै जन्मिए त्यसैगरी कांग्रेस सिध्याउन पनि कुनै बाह्य तत्व आवश्यक देखिँदैन । कांग्रेसभित्रका यिनै गुट-उपगुटरूपी यदुवंशीहरूको लोभ, अहंकार र सत्तास्वार्थले नै कांग्रेसलाई दुर्घटनामा पुर्‍याउन बेर लाउँदैन ।

फुटेको नेकपाले गुटरहित राजनीतिको अभ्यासबाट पुनः एकीकरणको बाटो समात्ने संभावना जति प्रवल देखिन्छ जुट्न नसकेको कांग्रेसको भविष्य पनि उति नै दुर्घटना उन्मुख देखिएको छ ।

नेकपा फुटेर घोषित रूपमै तीन टुक्रा बन्यो । तर कांग्रेस नफुटेर पनि तेह्र टुक्रा विभक्त छ । यी टुक्राहरूमध्ये अधिकांश टुक्राहरूलाई प्रतिपक्षको दुर्गतिको कुनै हेक्का छैन छ त केवल अन्य गुटको बर्बादी र आफ्नो गुटको आबादी मात्र ।

वास्तवमा अहिलेको कांग्रेसलाई नेकपालाई जस्तै ध्वंसात्मक प्रतिपक्षबाट भन्दा पनि आफैंभित्रका यदुवंशीहरूबाट बढी खतरा देखिन्छ । प्राविधिक हिसाबले नेकपा टुक्रिएर फरकफरक पार्टी बन्नासाथ त्यसभित्र रहेका गुटहरू पनि आ-आफ्नै बाटोमा हिँड्न थालेका छन् । तर कांग्रेस आवरणमा एक र यथार्थमा अनेक स्वार्थी समूहको चङ्गुलमा फसेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

फुटेको नेकपाले गुटरहित राजनीतिको अभ्यासबाट पुनः एकीकरणको बाटो समात्ने संभावना जति प्रवल देखिन्छ जुट्न नसकेको कांग्रेसको भविष्य पनि उति नै दुर्घटना उन्मुख देखिएको छ । यसर्थ इतिहासबाट पाठ सिकेर कांग्रेसले यथाशीघ्र आन्तरिक एकता र सहकार्यको सार्थक अभ्यास गरोस् । अन्यथा यसलाई यदुवंशीहरूको जस्तै आत्मघातबाट कुनै नेतृत्वले पनि बचाउन सक्दैन !