Loading... आजः २०८१, ५ श्रावण शनिबार

आनन्दको बरदान गुराँसेमा ‘भ्यू टावर’

दैलेख ः दैलेखको गुराँसे आनन्दको बरदान स्थल हो । गुराँसेको अवलोकनपश्चात् जो–कोहीले यही कुरा भन्दछन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँग सीमाना जोडिएको गुराँसे क्षेत्र पर्यटकका लागि एक महŒवपूर्ण ठाउँ हो, त्यही ठाउँमा अहिले ‘भ्यू टावर’ बन्दै छ ।

समुद्री सतहदेखि २ हजार ५०० मिटर अग्लो स्थानमा अवस्थित गुराँसेमा ‘भ्यू टावर’ निर्माणसँगै यस क्षेत्रको पर्यटन क्षेत्र केही फस्टाउने अपेक्षा गरिएको छ ।

प्रदेशको मुख्य पर्यटकीय स्थल रारा जाने मूलबाटोमै पर्ने भएकाले रारा जाने पर्यटकहरू गुराँसेको आनन्द लिएर रारा उक्लिन्छन् । तराईका भू–भागबाट कर्णालीको नजिकको हिउँ पर्ने र गुराँस पाइने स्थान गुराँसे भएकाले पनि यहाँ पर्यटकको आकर्षण अत्यधिक देखिन्छ ।

गुराँसे आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि गुराँस गाउँपालिकाले यस क्षेत्रमा ‘भ्यू टावर’ निर्माणको अवधारण ल्याएको हो । पर्यटन मन्त्रालयको रू. ६० लाख लागतमा ‘भ्यू टावरको’ काम धमाधम भइरहेको गाउँपालिकाले बएको छ ।

निर्माण गर्न विस्तृत गुरुयोजना प्रतिवेदन (डीपीआर) बनाई संघीय सरकारको पर्यटन मन्त्रालयमा बुझाएको थियो । सोहीअनुसार रकम विनियोजन गरिएको हो । ‘हालसम्म ६० प्रतिशत जति काम सम्पन्न भइसकेको ‘भ्यू टावर’ निर्माण समितिका अध्यक्ष मानबहादुर जीसीले बताए ।

भ्यू टावरबाट नेपालका करीब ४० ओटा जिल्लाका विभिन्न भू–भाग, पश्चिम तराईका फाँटहरू, शैपाल हिमाल, सिस्ने हिमाललगायत भारतको समेत केही स्थान सहजै अवलोकन गर्न सकिने बताइएको छ ।

निर्माणधीन टावरसँगै कलात्मक रूपमा लालीगुराँसको रूख बनाइएको छ । उक्त, रूखमा डाँफे, चितुवा, चील लगायत पशुपक्षी र हतियारहरू चित्र बनाइएको छ । खेलकुद साधना, वनभोज स्थल, चिल्ड्रेन पार्कलगायत विभिन्न मनोरञ्जनात्मक संरचनाहरू निर्माण गरिने बताइएको छ ।

‘त्यस वरपरका विभिन्न धार्मिक मठमन्दिरको पनि उचित संरक्षण कार्य गरिँदै छ’, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले भने । गुराँसे क्षेत्र पर्यटन मात्रै नभइ कृषि क्षेत्रका हिसाबले पनि निकै प्रख्यात भएको उनको भनाइ छ ।

‘हाम्रो यो ठाउँलाई पर्यटकीय हवको रूपमा विकास गरी कृषि क्षेत्रलाई पर्यटनसँग जोड्ने योजना छ’, अध्यक्ष ओलीले भने, ‘दुबै क्षेत्रलाई सँगै अघि बढाएपछि हाम्रो आर्थिक स्रोत वृद्धि हुन्छ ।’ गुराँसे क्षेत्रमा विभिन्न प्रजातिका गुराँस पाइने भएकाले प्रदेश सरकारले यस क्षेत्रका गुराँस संरक्षणमा समेत बजेट विनियोजन गरेको थियो ।

यस्तै यहाँको राउटे बस्तीले गर्दा यो गाउँपालिका सांस्कृतिक सभ्यतासँग पनि जोडिएको छ । लोपोन्मुख सूचीमा रहेका मानव समुदाय राउटेको बसोबास पनि यहाँ छ । भ्यू टावरको अवलोकन र राउटे संस्कृतिसँगै यहाँ देउराली गुफा, झरना, सुवा पोखरी, विभिन्न धार्मिक मठमन्दिरको अवलोकन गर्न सकिन्छ । –अार्थिक अभियान बाट