कविता : दिनहरू र बधशाला
। २०७७ बैशाख २८, आईतवार मा प्रकाशित
लेखक ः सुरेश हाचेकाली
दिनहरू भुर्र उडेर
पालैपालो छुन आउँछन्
म दिनहरूलाई छुन्छु, सुम्सुम्याउँछु र मार्छु
दिनहरू मारेको अभियोगमा
टाउकोमा कलङ्कको कपाल फुल्छ
त्यो फुलाइ
वसन्तको तोरीबारीजस्तो पहेँलपुर हुँदैन
लेकाली चेलीको गुँरासजस्तो राताम्य हुँदैन
बन्दरगाहमा उभिँदा देखिने
लच्छिनैलच्छिनको समुद्रजस्तो नीलाम्य हुँदैन
मानौं, त्यो अलच्छिनको सेताम्य फुलाइ हो
जहाँ मृत्युको पुतली लोभिएर आउँछ
जिन्दगीको बधशालामा
मैले आठ हजारभन्दा बढी दिनहरुको हत्या गरिसकेँ
एक दिन यस्तो दिन आउँछ
हजारौँ हजार दिन मार्नेलाई
एउटै दिनले मारिदिन्छ
दिनहरू भुर्र उडेर
पालैपालो छुन आउँछन्
म दिनहरूलाई छुन्छु, सुम्सुम्याउँछु र मार्छु ।









