Loading... आजः २०७८, ४ असार शुक्रबार

जिन्दगी’ मा कलेजो दिने बाबुको कथा

बैतडी । दुईमहिने शिशु शिवांश अवस्थीलाई कलेजो दान दिने बुबा महेश अवस्थीको वास्तविक जीवन कथामा आधारित मार्मिक गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । गायक निशान भट्टराईको आवाज रहेको गीतमा गायिका तथा संगीतकार कमला सापकोटाको शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन महाराज थापाले गरेका छन् ।

बैतडीस्थित रेडियो निंगलाशैनीका प्रबन्ध निर्देशक महेशका छोरा शिवांशको जन्मेको १४औँ दिनदेखि कलेजोमा खराबी आएपछि त्रि वि शिक्षण अस्पताल काठमाडौंमा एक महिना बढी आइसियुमा राखेर उपचार गरिएको थियो । तर त्यहाँ निको नभएपछि भारतको चेन्नाईको रेला अस्पतालमा रेफर गरिएको थियो । सो अस्पतालले शिशुको कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुवा महेशले छोरालाई कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो ।

घटनाबारे थाहा पाएपछि नेपाली समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकोले गीत तयार पार्न गायिका सापकोटाले पहल तथा अगुवाइ गरिन् । ‘महेश, गीता दम्पत्तिले सन्तान प्राप्तिका लागि गरेको सघंर्ष सम्झिँदा निकै कहालीलाग्दो छ, सोही वास्तविकतालाई मैले आफैँ शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ, समाजमा छोराछोरीप्रति धेरै विकृति सुन्न हेर्न सकिन्छ तर आफनो कलेजो दिएर छोरा बचाउने बाबाको प्रेरणालाई यो गीतबाट झल्काउन खोजेकी छु’, गायिका सापकोटा भनिन् । उनले वास्तविक कथामा आधारित रहेर भावुक गीतमा पहिलो पटक छोटो समयमा शब्द तथा संगीत गर्न सफल भएको सुनाइन् ।

गीतको निर्देशन तथा छायांकन युवराज वाइबाले गरेका हुन् । निर्देशक वाइबा भन्छन्, ‘कलेजो काटेर दिने ती महान् पिताको वास्तविक घटनालाई भिडियोमार्फत तपाईंहरू माझ लिएका हौँ, अहिलेसम्म धेरै काम गरियो तर यो हाम्रो लागि फरक काम हो ।’ भिडियोमा निर्मल न्यौपाने र रेखा घिमिरेको अभिनय छ । ‘जिन्दगी’ युट्युबमा राखेपछि आउने रोयल्टी शिवांशको उपचारमा खर्च गर्ने कलाकारले बताएका छन् ।