गाउँका विद्यार्थीलाई अनलाइन कक्षा एकादेशको कथा
दैलेख ः विश्वव्यापी रूपमा फैलिएको कोरना भाइरसको कारण यतिबेला बालबालिकाले विद्यालय नै बिर्सने हो कि भन्ने अवस्था देखिएको छ । लामोसमय विद्यालय बन्द हुँदा बालबालिकाको भविष्य र कोरोना संक्रमणको चिन्ता अभिभावकले पनि लिएका छन् । अझ पछिल्लो समय अनलाइनमार्फत गर्ने भनिएको शिक्षण विधि प्रभावकारी बन्न नसक्दा र त्यसलाई सबैको पहुँचमा पु¥याउन नसक्दा अभिभावकको चिन्ता बढेको छ । दैलेखको भगवतीमाई गाउँपालिका–३ धाराका रमेश विक जिल्लाको भगवती माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्छन् । कक्षा ३ सम्म उनी नियमित विद्यालयमा उपस्थित भएरै पढे । ४ र ५ कक्षामा भने विद्यालय नगएरै पास भए । विद्यालय नगएर पास भएपछि उनको मनमा लाग्यो, ‘अब विद्यालयमा कहिल्यै नगए पनि हुँदोरहेछ । आखिर पास भइसके ।’ उनको जस्तै समस्या र चिन्ता यहाँको विद्यार्थी र अभिभावक सबैको हो । न पढे पनि हुने रहेछ भन्ने सोच विकास हुँदै गयो भने भोलिका दिनमा त्यसले कस्तो असर पार्ला ? भन्न सकिने अवस्था छैन ।
कक्षा ५ बाट उत्तीर्ण भएर कक्षा ६ मा गएको ३ महिनासम्म पनि विद्यालय सञ्चालन नहुँदा उनी अहिले अन्य साथीहरूसँगै गोठाला जान्छन् र दिनभर ढुंगा माटोसँग खेल्छन् । उनी जस्तै दैलेखका विद्यालयमा अध्ययन गर्ने हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । लामो समय विद्यालय न खुल्दा उनका अभिभावक बच्चाले स्कुल जानै बिर्सन्छन् कि भन्ने चिन्तामा छन् । तर, अहिले तत्काल उक्त समस्याको सामाधान पनि छैन । कोरोना नियन्त्रणमा नआउँदासम्म बच्चालाई कसरी स्कुल पठाउने ? अभिभावकको चिन्ता छ । जिल्लाका सरकारी तथा संस्थागत सबै विद्यालय यतिबेला कोरोनाका कारण बन्द छन् । ११ वटा स्थानीय तहका विद्यालयहरू बन्द भएका कारण विद्यार्थीहरू अन्योलमा परेका हुन् । माध्यमिक शिक्षा अध्ययन गर्ने धेरै विद्यार्थीहरू भारतको हिमाली प्रदेशमा काम गर्न गएका छन् । विद्यालय बन्द भएपछि गाउँघरमा काम केही नहुने भन्दै कामको सिलसिलामा भारतको कुल्लु भन्ने ठाउँमा गएको भगवतीमाई गाउँपालिका–४ का नरेन्द्र अधिकारीले बताए ।
त्यस्तै ठाटीकाँध गाउँपालिका–२ की सरस्वती नेपालीलाई भने अनलाइन कक्षा के हो कसरी पढाइ हुन्छ भन्ने बारेमा थाहा नै छैन । कोरोनाका कारण विद्यालय बन्द भएदेखि उनले घरमा अध्ययन गर्नसमेत पाएकी छैनन् । विद्यालय जान नपाएका कारण सो समय उनी घरायसी कामकाजमा व्यस्त छिन् । लामो समय पढाइ छुटेका कारण अहिले उनलाई पढाइप्रति रुचि लाग्न पनि छाडिसकेको छ । ‘कोरोनाका कारण स्कुल बन्द भयो, किताब हेरौँ भने सिकाइदिने कोही छैन, कसरी पढ्ने ? घरायसी कामकाज र गाइबस्तुको गोठालो गएर दिन बितेको छ’, सरस्वतीले भनिन्, ‘अरू विद्यालयमा त अनलाइन पढाइ हुन्छ भन्ने सुनेकी छु, हाम्रो मा त केही छैन ।’ उनले आफ्नो समस्या सुनाइन् ।
सरकारले शिक्षण सिकाइका लागि वैकल्पिक माध्यमका रूपमा अनलाइन कक्षा तथा रेडियो शिक्षा दिने गरे पनि दैलेखका लागि अनलाइन कक्षा एकादेशको कथाजस्तै भएको छ । जिल्लामा तीन वटा एफएम रेडियो सञ्चालन छन् । ती मध्ये दुई वटा रेडियोबाट शिक्षण भए पनि प्रसारण समय उपयुक्त नभएका कारण धेरै विद्यार्थीले त्यो सुविधा लिन पाएका छैनन् । ११ स्थानीयतह भएको दैलेखमा जिल्लाको नारायण नगरपालिकाले मात्रै एक महिनाको लागि रेडियोबाट शिक्षण गरेर झारो टार्ने काम गरिरहेको यहाँका स्थानीयको आरोप छ । हुन पनि पढाइ झारो टारेजस्तै भएको छ । विद्यार्थीले कुनै सिकाइ पाउन सकेका छैनन् ।
सामुदायिक विद्यालय महासंघ कर्णाली प्रदेशको तथ्यांकअनुसार कर्णालीमा ४५ प्रतिशत विद्यार्थीले कोरोना कहर सुरु भए यता कुनै पनि माध्यमबाट पढेका छैनन् । १० प्रतिशतले मात्र अनलाइन कक्षा लिएका छन् । पाँच प्रतिशतले टेलिभिजन, तीन प्रतिशतले रेडियो, १३ प्रतिशतले घरदैलो, सात प्रतिशतले सामूहिक सिकाइ आठ प्रतिशतले घुम्ती शिक्षा र २४ प्रतिशत विद्यार्थीले स्वअध्ययन गरेका छन् । यस्तै कर्णालीका अधिकांश निजी विद्यालयहरूले अनलाइन कक्षाबाट अध्यापन गराइरहेको प्याब्सनले जनाएको छ । दैलेखमा कतिपय स्थानीयतहमा अहिलेसम्म विद्युत् पुगेको छैन् । पुगेको ठाउँमा पनि नियमित आपूर्ति नहुँदा झनै समस्या परेको छ । विद्यार्थीले अनलाइनमा पढ्नलाई नेटको आवश्यक पर्छ । तर, नेट विद्युत् नभए चल्दैन । जिल्लाका केही स्थानीय तहमा घाम लागेमा मात्र नेटवर्क आउने हुँदा बर्षातको समयमा विद्यार्थी र शिक्षकले धेरै समस्या भोग्ने गरेका छन् । विद्यालयमा राखिएका सोलार पनि वर्षातमा काम गर्दैनन् अनि कसरी संम्भव हुन्छ अनलाइन कक्षा ? घरमा राखिएका सोलारबाट एक वटा मोबाइल चार्ज गर्ने सकिने स्थिति छैन । अहिलेका मोबाइल सेटमा ठूलो मात्रामा विद्युत् खपत गर्ने प्रविधि जडान भएको छ । २० वाटको सोलारले कसरी ३० वाटबाट चार्ज हुने मोबाइल चार्जर गर्ला अनि कसरी विद्यार्थीले अनलाइन कक्षा लिने यो ठूलो चुनौती भएको छ । घरका चार जनाभन्दा बढी विद्यार्थी हुन्छन सबैसँग स्मार्ट मोबाइल र ल्यापटप हँुदैन अनि कसरी विद्यार्थीले अनलाइन पढने ? यहाँका अभिभावक र विद्यार्थीले एउटै प्रश्न गर्ने गरेका छन् । तैपनि उनीहरूको समस्याको सामाधान छैन ।
कोरोना संक्रमणको जोखिमका कारण केही महिना पहिलेबाट विद्यालय बन्द भए । बन्द भएका विद्यालय अहिले पनि बन्द नै छन् । तर, नारायण नगरपालिकाले भने नगरभित्रका विद्यालय २२ साउनदेखि सञ्चालन गरेको थियो । कोरोनाको संक्रमण घट्दै गएको भन्दै सञ्चालन गरेका विद्यालय फेरी एक हप्ता नपुग्दै बन्द भए । सञ्चालन भएका विद्यालय बन्द भएपछि शिक्षण सिकाइ सहजीकरण गर्न शिक्षकलाई बिहीबार ल्यापटप वितरण गरिएको छ ।
जिल्लाको नारायण नगरपालिका–८ तर्ताङमा रहेको सरस्वती माध्यमिक विद्यालयले १५ थान ल्यापटप खरिद गरी १५ जना शिक्षकलाई हस्तान्तरण गरेको छ । सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जीवराज तिमिल्सेनाले कोरोना संङक्रमणको जोखिमका कारण भौतिक रूपमा उपस्थित भएर पठनपाठन गर्न असमर्थ भएपछि शिक्षकहरूलाई ल्यापटप वितरण गर्ने योजना अनुसार ल्यापटप हस्तान्तरण गरिएको बताए । विद्यालयमा रहेको मौजाद रकमबाट १५ थान ल्यापटप ७ लाख ८० हजारमा खरिद गरिएको उनले जानकारी दिएका छन् । उनका अनुसार इमेल इन्टरनेटको पहुँचमा भएका बालबालिकाका लागि वैकल्पिक प्रविधिबाट शिक्षण सिकाइ गर्ने र अन्य बालबालिकालाई कसरी शिक्षण सिकाइ गर्ने विषयमा पुनः छलफल भइरहेको छ ।
ल्यापटप हस्तान्तरण कार्यक्रममा नारायण नगरपालिका–८ का अध्यक्ष दलबहादुर खत्रीले शिक्षक र विद्यार्थीले प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ गर्नुपर्ने बताए । उनले शिक्षण सिकाइ प्रभावकारी बनाउन ल्यापटप वितरण गरेका छाँै त्यसको समुचित प्रयोग गर्न शिक्षकलाई आग्रह गरे । शिक्षकलाइ विद्यालयले ल्यापटप दिने दैलेखमा यो विद्यालयको पहिलो प्रयास भएको शिक्षा तथा समन्वय एकाइ दैलेखले जानकारी दिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका प्रमुख तेजबहादुर थापाले यो प्रयास राम्रो भएको भन्दै अन्य विद्यालयले समेत यस्ता खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।