Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

क्वारेन्टाइन डायरी

क्वारेन्टाइनमा छु । विगतमा मैले कोरोना र क्वारेन्टाइन भन्ने नामहरु कहिल्यै सुनेको थिइन ।

हाम्रो गाउँमा न त कोरोना आउथ्यो न त क्वारेन्टाइन नै चाहिन्थ्यो । सानो छदा दादुरा, ठेउला आएको याद छ । ठूलो हुँदा पनि ज्वरो, रुघाखोकी आदि भोगेको थिए ।

उमेरले जवानीमा टेकेपछि घर छाड्नुपर्ने बाध्यता आइलाग्यो । बारीको उब्जनीले खान पुग्थेन ।

गाउँमा केही काम मिलेन । स्कुलमा पढेको ज्ञानले स्वदेशमा केही इलम जुराएन । आखिर दौँतरीहरुको साथमा म पनि मुग्लान हिडेँ ।

रुपैडिया पुगेपछि थाहा भयो, मेरो देशको सीमाना काटेछु । यस धर्तीमा जन्मिएपछि पहिलो पटक बिदेशी भूमिमा हिड्दै थिए । धेरै दिनको यात्रापछि बरोडा पुगियो ।

त्यही मिलेको थियो पहिलो जागीर– एउटा फ्याक्ट्रीको मजदुर ।

बिहानको घाम रामपुरको डाडो नाघेर मसम्म आइपुगेको छ । यो घामको डल्लो पनि अचम्मै स्वतन्त्र छ, न यसलाई कोरोनाले भेट्छ न यसले क्वारेन्टाइनमा बस्नुपर्छ ।

यसको आकार र स्पर्श क्वारेन्टाइनभित्र र बाहिर, देशभित्र र बाहिर उस्तै छ । घामले तताउन थालेपछि म तिदुको रुखमुनी सरे । रुखमा तिदु निख्रीएको छ । पात भने चम्किलो भएका छन् ।  बाहिर गेटमा आवतजावत चलिरहेको छ । मानिसहरू हुल बाधेर ट्याक्टर ,बलेरो जीप र बसमा चढिरहेका छन् । एउटा पुलिसले माइकिङ्ग गरिरहेको छ– “भिडभाड नगर्नुहोस् । सामाजिक दुरी कायम गर्नुहोस् । कोरोनाबाट आफू पनि बच्नुहोस् । आफ्नालाई पनि बचाउनुहोस् ।”

 अर्को पुलीसले ट्याक्टरमा चढ्नेहरुको संख्या गनिरहेको छ । म बसेको शितल छहारीमा म एक्लै छैन । दश बाह्र जना छौं । चौर सबै मजस्ता पाहुनाहरुले भरिएको छ । मेरो छेउमा एकजनाले भन्यो– “भिडभाड नगर्नुस् रे ।

हामीलाई भिडमा राखिदिएका छन् । कसरी एकान्त कायम गर्नु ।” अर्काे गमौडी घर बताउने साथी भनिरहेको थयो– “ म अहिले केही बोल्दिनँ । चुनाव आउँला नि एकदिन । साला चावल नखाएको पनि तेह्र दिन भएछ ।” यिनीहरुको समूह आज राती दुई बजे आइपुगेको हो । बिहान हामीलाई दिएको चना आधा मात्र पाकेको थियो । पेट गुडुडु करायो । म दगुर्दै शौचालयतर्फ हानिए । शौचालयमा लामो लाइन थियो । थामिनुबाहेक केही उपाय छैन ।

क्वारेन्टाइन शब्द उच्चारण गर्नजस्तै गाह्रो यसमा बस्न पनि भैरहेछ । नबसी पनि भएन । आज तीन दिन मात्र भयो । अझै एघार दिन बाँकी छन् । पहिलो दिन त यहाँ कोठा पाइएन । बाहिरै सुतियो । रातको अध्यारोमा आकाशले ताराहरुको जात्रा गरेको कति राम्रो देखिएको थियो । एउटा कम्बल छ साथमा । त्यही आधा ओछ्याए, आधा ओढे । बरोडामा यसरी कहाँ सुत्न सकिन्छ र । गर्मी र लामखुट्टेले हैरान ।

यता भने न गर्मी न लामखुट्टे । आकाशका ताराहरु हेर्दाहेर्दै कतिबेला निदाए, पत्तै भएन । बिहान बिउँझिदा चौरमा ठूलो भिड जम्मा भैसकेको थियो । चौरको छेउमा अण्डा र चना ठूला-ठूला डेक्चीमा भकभक उम्लिरहेको थियो । यो क्वारेन्टाइनमा भारतका धेरै ठाउँबाट आएका मानिसहरु छन् । धेरै जसो मेरै उमेरका छन् । भारतका विभिन्न शहर र बजारमा छरिएका काँचा सपनाहरु कोरोना भन्ने भाइरसले सोहोरेर स्वदेश फर्काइरहेको छ ।

दिनभरजसो म विभिन्न ठाउँका साथीहसँग कुरा गर्छु । हाम्रा कुरामा जागीर, तलब, साहुको गाली, प्रवासमा रहेका नेपाली संगठनदेखि कालापानी लिपुलेखसम्मले प्रवेश पाउँछन् । ठट्यौली उमेरको मायाप्रेम पनि बिच्च बिच्चमा विज्ञापन झै आउँछ । दिन कति लामो हुन्छ क्वारन्टाइनमा !

हिजो दिउँसो मलाई भेट्न जुन कुमारी आई । जुन कुमारी मेरो जीवनकी जून तारा सबै हो । विवाहको लगत्तै जुन यतै छाडेर म मुग्दानको अधेरोमा भासिएको थिए । मजस्तै लाखौं नेपाली युवाहरु जीवनसंगीलाई खेतीकिसानमै छाडेर सस्तो श्रम गर्न मुग्लान पस्छौं । वर्ष दुई वर्षमा जीवनसंगीसँग भेट हुन्छ ।

जुनकुमारीलाई गेटबाट पुलिसलेभित्र प्रवेश गर्न दिएन । मैले टाढै उभिएर उसलाई हेरे । उसले हातमा प्लास्टिकको थैली बोकेकी थिइ । गुजरातको कोरोनाबाट बचेर आएको साथीलाई घरबाट नासो ल्याएकी थिइ । पुलिसले उसको हातबाट थैली लियो ।

म नजिकै आयो र थैली भुँइमा राखिदियो । कोरोना सन्त्रासका कारण पुलिस पनि हामीलाई छुन डराउँछ । थैलीमा काक्रो, माना एक काफल र पाँच सय रुपियाको नोट थियो । मसँग भएको भारु चल्दैन भनेर पैसा पनि ल्याएकी होली । थैलीका सबै चिज आँखाले छामे । उखरमाउलो घाममा भोकभोकै फर्किएको मजदुर लोग्नेलाई घामपानी नभनेर कुटोकोदालो गर्ने किसान स्वास्नीले सप्रेम ल्याइदिएका हरेक चीजहरु मेरो लागि अमूल्य थए ।

गेट बाहिर जुन कुमारी उभिएकै थिई । म मुग्लान पस्दा उसले भनेको सम्झिए– घर आउँदा खाली हात आउने होइन नी । अर्को वर्ष घरको छानो फेर्नुपर्छ । जुन कुमारीको त्यो कुरा यो कोरोनाले बुझेन । गेटमा अरुका आफन्तहरु पनि आएका थिए ।

आफन्तहरुलाई भिड नगर्न पुलिसले भनिरहेको थियो । यो पुलिसको काम पनि सजिलो छैन । जुन कुमारी फर्किइ । हामीबिच कुनै दोहोरो वार्तालाप हुन पाएन । कोरोनाको कुरा उसले पनि सुनेको हुनुपर्छ । यो कसरी सर्छ भन्ने पनि पक्कै उसले बुझिसकी ।

मैले यसको खबर उतै बरोडामा सुनेको थिए । त्यतिबेला यो कोरोना चीन, इटाली कता कता घुम्दै थियो । हाम्रो फ्याक्ट्रीको मालिकले कोरोना भाइरस भारत आउन सक्दैन भनेको दुई दिनमा त टि भीले फुकिहाल्यो– भारतमा पनि भाइरस आयो भनेर ।

त्यो दिन हाम्रो मालिक कति डराएको थियो । भारतभरी बन्दाबन्दी घोषणा भएपछि हामी डेरामै बन्द भयौ । ठूला ठूला प्रधानमन्त्री, राष्ट्रपतिलाई समेत कोरोनाले घरबाट बाहिर निस्किन दिएन । गरिबहरुको चारो सकिएपछि के गर्नु निस्कनै पर्यो । कति त पैदल हिडे ।

चौबीसै घण्टा मोटर चल्ने शहर एकाएक सुनसान भएको थियो । दैनक ज्याला मजदुरी गरेर छाक टार्नेहरुको लागि जीवन कोरोनाले गराउने बिमारभन्दा अझ कठिन बन्यो । घरी घरी म आफै उज्यालो नछिर्ने कोठाभित्र कैद भएर के के सोच्थे– यो भाइरसको डर देखाएर संसारका ठूला साहुहरु कुनै दुई नम्बरी धन्दा गररहेका होलान् । यी पैसातन्त्रमा विश्वास गर्ने साहुहरु आफ्नो नाफा बढाउन र गरीबहरुलाई झन् आफूमाथि आश्रित बनाउन के पो गर्दैनन् र ।

भाइरस फैलिदै जादा अब देश फर्किन पाइन्न कि झै लाएको थियो । तर रेल छुट्ने दिन पनि आयो। रेलले बोडरमा छाडेपछि खुब दुख पाइयो । पाँच दिनसम्म नेपाल पस्न पाइएन । ती पाँच दिन न त खाने चिज पाइयो न सुत्ने ठाउँ पाइयो ।

पाँच दिनपछि नेपालमा टेक्न पाउँदा नालापानीको लडाइ जिते झै लाग्यो । नेपालको भूमिमा पनि यात्रा सहज थिएन । गाडीमा क्षमताभन्दा धेरैलाई चढाइयो । खाना र पानीको उस्तै समस्या थियो । बाटोमा मानिसहरु हामीलाई त्रसित आखाले हेर्थे । पसलमा हामीलाई पानी किन्न समेत दिइदैनथ्यो । हामीलाई मानिसहरू कोरोना बम नै ठान्थे क्यारे। बबई तर्न पनि कम्ता गाह्रो भएन। पुलिसले माथिको आदेश भन्दै गाडी रोकिदियो।

बडो मुश्किलले दैलेख आइपुगियो। चुप्रामा लायन्स क्लबले खाना खुवाउने व्यवस्था गरेको रहेछ । लोहोरेको किनारमा गाडीबाट झरेपछि यात्राको कष्ट र अपमान भुलियो । लोहोरेको चिसो हावाले सबै थकान मेटिदियो ।

यो नारायण क्वारेन्टाइन अरुभन्दा ठूलो छ । दैलेख आउने सबैजसो प्रदेशी साथीभाइलाई शुरुमा यही ल्याइन्छ । यसका सबै कोठाहरुमा भिड धेरै छ । ओछ्यानको नाममा म्याट छ । म्याटमाथि तन्ना चिप्लिएर डल्लो परिहाल्छ । शौचालयमा पानी थिएन आज बिहान । यति धेरै भिडमा दैनिक प्रशासन चलाउन तालिम पाएको जनशक्तिले थोरै स्रोतसाधनबाट धोरै गरोस पनि कसरी । स्थानीय केही जनप्रतिनिधिहरु आफ्नो पालिकाका मानिस लैजान खटिरहेका छन् ।

बितेका दुई महनामा स्वदेश फर्कनेहरुको सम्भाव्य लगत राखी क्वारेन्टाइन र आइसोलेसनको तयारी गर्नु पर्ने हो । बीचमा केही स्थानीय तहहरु राहात बाँड्न व्यस्त भए । महामारी रोकथाम र नियन्त्रणको तयारीमा ध्यान कमै मात्र दइयो।

राजनीतिक पार्टीहरु राहात वितरणको फोटो अपलोडसम्म सीमित भए । स्वास्थ्य संस्थामार्पmत स्थानीय तहले सामग्री खरिद पनि गरे। ती सबै तयारी कमजोर साबित भएका छन् । स्थानीय प्रशासन पास वितरणबाट हैरान भयो । अरु केही योजना बनाउन सकेन। कति ठाउमा त क्वारेन्टाइनको नाउँमा हिसाब हेराफेर हुछ कि झै पो लाग्छ यो मुग्लानीलाई ।

क्वारेन्टाइन कस्तो हुन्छ भन्ने मलाइ थाहा त छैन । तर मैले बुझेको क्वारेन्टाइन भिड नहुने, शौचालय, भान्सा, सुत्ने कोठा आदिको प्रयाप्त सुविधा भएको हुन्छ । हामीमध्ये कसैसङ्ग कोरोना रहेछ भने कुनै माध्यमबाट अरुमा नसरोस भनेर त क्वारेन्टाइनमा बस्नु पर्ने होला । गाडीमा एक–अर्को नछुटिने गरि मान्छे चढाउनु पर्ने, एकअर्कोसङ्ग टाँसिएर सुत्नु पर्ने भएपछि दुख खपीखपी क्वारेन्टाइन बस्नुको अर्थ रहन्न जस्तो लागेको छ । यहाँ म आएपछि दुई जना पोजेटिभ भएर भिडबाट अलग भैसके । शुरुको दिनमा उफ्री उफ्री नारा लगाउने तिनै पोजेटिभ र्थि । म पनि उनीहरुसँगै कति पटक हात समातेर उफ्रिएको थिए ।

उनीहरुलाई अस्पताल छेउको आइसोलेसनमा राखेको छ भन्छन् । हामी सबै जनाको स्वाव जाँच भैसकेको पनि छैन । यसरी भिडमा बसाल्नुभन्दा सिमानामा हाम्रो जाँच गर्ने र रेकर्ड राखेपछि सिधै हाम्रो घर भएको स्थानीय तहमा पठाउनुपर्यो । त्यहाँ जाँच गर्न छुटेकालाई प्रदेश सीमानामा जाँच गर्ने व्यवस्था मिलाउनु पथ्र्यो । पोजेटिभ देखिए प्रदेशको आइसुलेसनमा राख्ने व्यवस्था मिलाइनु पथ्र्यो । थप जटिलता देखिएका उपचारमा सजिलो हुन्थ्यो ।

स्थानीय तहमा आफ्नै वार्डको टोलमा हामी क्वारेन्टाइनमा बस्थ्यौ । घरबाट गुन्द्री र कम्बल मगाउथ्यौ। आफ्नै टोलको पानी उमालेर पिउथ्यौ । बारीको तरकार क्वारेन्टाइनको भान्सामा पाक्थ्यो। क्वारेन्टाइनको नाममा हुने खर्चमा कटौती हुन्थ्यो । प्रत्येक दिन टोलमा उपलध स्वास्थ्य स्वयं सेवकले तापक्रम नाप्ने र दैनक स्वास्थ्य प्रतिवेदन तयार पार्थे ।

टोलका क्वारेन्टाइनमा पोजेटीभ देखिए पालिकास्तरको आइसोलेसनमा सार्न कठिन हन्ुथेन। यसका लागि स्थानीय तहमा एउटा एम्बुलेन्स र एउटा बरामी ओसारपसार गर्ने चार सदस्यसम्मको कार्यदल भए पुग्छ ।

मजदुर भए पनि, कम पढेलेखेको भए पनि हामी आफ्नो र आफन्तको स्वास्थ्यको ख्याल राख्न सक्छौ। हाम्रा आफन्तहरु पनि कुरै नबुझ्ने त कहाँ छन् र । कोरोनाको रोकथाप गर्ने नै भिडभाड हुन नदिएर हो । मैले रेडियो टिभीबाट सुनेको कुरा यही हो । लागिहाल्यो भने मनाबल गुमाउनु भएन । अरुलाई सार्न भएन ।

बितेको तीन दिनमा भारतबाट दैलेख खाउनेको संख्या ६ हजार पुगेको छ । ४० हजारभन्दा बढी भित्रिने अनुमान छ भन्छन् ड्युटीमा बस्ने पुलिसहरु । अहिल्यै यस्तो छ भने सबै आउँदा यस्ता क्वारेन्टाइनहरुले कसरी धान्लान ? जम्मा जनसंख्याको झण्डै पच्चीस प्रतिशत भारतबाट फर्किदा महामारीको जोखिम बढ्छ नै । यहाँबाट दिन रात साथीहरु आ-आफ्ना गाउँका क्वारेन्टाइनहरुमा लगिइन्छन ।

स्थानीय तहबाट बस, बलेरो, ट्याक्टर आउँछन् । अटाउने जतिलाई गाडीमा हाल्छन् । साथीहरु गाडीमा चढेपछि नारा लगाउछन् । त्यस्तो दृश्यले कोरोना आतंकलाई चटक्कै बिर्साउछ । यस्तो लाग्छ मानौ साथीहरु कालापानीमा मोर्चा सम्हाल्न गैरहेका छन् । गेटमा पुलिस भने सिटी फुक्दै माइकिङ्ग गरिरहेको हुन्छ– भिडभाड नगर्नुहोस् । सामाजिक दुरी कायम गर्नुहोस् … ।

क्वारेन्टाइनमा तेस्रो दिनले साँझलाई भेट्न खोजेको छ । गेटछेउको सल्लोघारीमा हावा सुस्त सुस्त सुस्केरा बजाउँदै हिडिरहेको छ । (नयाँ समाजबाट)


लेखक  छबी सुवेदी दैलेख

समाचार